विराटनगर । काठमाडौं महानगरपालिकाबाट राजीनामा दिएका बालेन साह यतिबेला झापा–५ को चुनावी मैदानमा छन् । रास्वपाबाट प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनको चुनावी शैली परम्परागत छैन । उनी न त लामा भाषण गर्छन्, न त प्रतिस्पर्धीको उछित्तो काढ्दै हिँड्छन् ।
बालेनको चुनावी यात्रा मौन छ र सन्देशमुलक छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभाव क्षेत्र झापा–५ मा पुगेर बालेनले ओलीलाई शब्दले होइन, संकेतले काउन्टर दिइरहेका छन् । जसको उदाहरण हो बुधबारको खुवालुङको यात्रा ।
यो त्यही खुवालुङ हो, जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज चलाउन बाधक भन्दै फुटाउने घोषणा गरेका थिए । २०७७ फागुनमा विराटनगरको एक सभाबाट ओलीले दिएको त्यो अभिव्यक्तिले किराँत समुदायमा आक्रोशको डढेलो सल्काएको थियो । विरोधपछि ओली ब्याक भएनन्, तर काम भने रोकियो ।
बुधबार बालेन ठ्याक्कै त्यही खुवालुङको अगाडि उभिए । खुवालुङको फोटो राख्दै उनले लेखेका छन्,‘ खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा “सभ्यताको द्वार” मानिन्छ। मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो । यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ ।’
ओलीले विकासका लागि ‘तगारो’ देखेको ढुङ्गालाई बालेनले ‘सभ्यता र इतिहास’ को कसीबाट व्याख्या गरिदिए । यो केवल एउटा फेसबुक पोस्ट मात्र थिएन, ओलीको ‘विकासवादी दम्भ’ विरुद्ध बालेनको ‘सांस्कृतिक प्रहार’ पनि हो । किराँत समुदायको मुन्धुमसँग जोडिएको आस्थालाई सम्मान गरेर बालेनले पूर्वी नेपालको भावात्मक मनोविज्ञानमा बलियो पकड जमाउने प्रयास गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेपछि बालेनको दौडधुप मन्दिर र शक्तिपीठहरूमा केन्द्रित देखिएको छ । ताप्लेजुङको पाथिभरा (मुकुमलुङ)देखि तेह्रथुमका स्थानीय मन्दिर, झापाको दुर्गा मन्दिर र सुनसरीको बराहक्षेत्रसम्म पुग्दा उनले आफूलाई ‘आधुनिक तर आध्यात्मिक’ नेताका रूपमा प्रस्तुत गरेका छन् ।
राजनीतिक विश्लेषक गिरिश भट्टराईका अनुसार यो बालेनको ‘सेन्टिमेन्टल मार्केटिङ’ हो ।‘नेपालमा धर्म र संस्कृतिसँग जोडिनु भनेको ठूलो मतदाता वर्गलाई आकर्षित गर्नु हो,’भट्टराई भन्छन्, ूउनले युवाहरूको क्रेजलाई त समेटेकै छन्, अब मन्दिर र संस्कृतिको माध्यमबाट पाको पुस्ताको मन पनि जित्न खोज्दैछन् ।’
बालेनको प्रचार शैली पनि अरु भन्दा फरक छ । उनी एउटै ठाउँमा धेरै बेर बस्दैनन् । एउटा क्षेत्रमा १० मिनेट झुल्किन्छन्, सांकेतिक रूपमा घण्टी बजाउँछन् र अर्को गन्तव्यतिर लागिहाल्छन् । रास्वपा नेता गणेश कार्कीका अनुसार १६५ वटै क्षेत्रमा पुग्नुपर्ने बाध्यताका कारण उनी द्रुत गतिमा दौडिएका हुन् । बालेनको छोटो उपस्थितिले पनि मतदातामाझ कौतूहल र उत्साह पैदा गरेको उनले बताए ।
झापा–५ मा केपी ओलीको ‘चतुर वाक्पटुता’ र बालेनको ‘सांकेतिक प्रहार’बीचको रोचक द्वन्द्व छ । ओलीले पानीजहाजका सपना बाँडिरहँदा, बालेनले भने खुवालुङ जस्ता आस्थाका केन्द्रहरूलाई ढाल बनाएर ओलीलाई रक्षात्मक अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)