रतुवामाइ नगरपालिका ५ र ६ जाेड्ने कट्नु खाेलामा अलपत्र अवस्थामा रहेकाे पुल । विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर २ (साविक १), जसले देशलाई पटक-पटक प्रधानमन्त्री दियो । यही क्षेत्रबाट तीन पटक चुनाव जितेर स्वर्गीय गिरिजाप्रसाद कोइरालाले तीन पटक राज्यको बागडोर सम्हाले (२०४८ सालदेखि २०५८ सम्म) । त्यसपछि आमोदप्रसाद उपाध्याय, डाक्टर मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलजस्ता प्रभावशाली नेताहरूले संसदको यात्रा तय गरे । रिजाल मन्त्री पनि बने । तर, देश हाँक्ने नेता जन्माएको यो क्षेत्रका नागरिक भने अहिले पनि सामान्य खोल्सो तर्न पुल नहुँदा सास्ती खेपिरहेका छन् ।
सुनवर्षी नगरपालिका–६ कैमीका बेचनलाल गोढीको घर छेउमै एउटा खोल्सो (धादरी) छ । उनी सानै छँदा देखेको त्यो खोल्सोमा अझै पुल बनेको छैन । सिधा जाँदा ४–५ सय मिटरमै बजार पुगिन्छ, तर पुल नहुँदा वर्षायाममा उनीहरू निकै घुमाउरो बाटो हिँड्न बाध्य छन् ।
‘हिउँदमा पानी थोरै हुँदा खोल्सोबाटै तर्छौं, तर बर्खामा नानीहरूलाई बोकेर तार्नुपर्छ,’ बेचनलाल भन्छन्,‘गिरिजाबाबुले तीन पटक, आमोद उपाध्याय, मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलले दुई–तीन पटक जितेर गए । तर, विकासको नाममा हाम्रो गाउँमा केही भएन । बजार एरियामा मात्र काम भयो, गाउँलाई हेरिएन ।’
यद्यपि, सबैले विकासै नभएको भने मान्दैनन् । रतुवामाई नगरपालिका–६ सौठाका जयप्रसाद पौडेल गिरिजाप्रसाद कोइरालाको पालामा देखिने काम भएको बताउँछन् । ‘उर्लाबारी–आमबाडी सडक स्तरोन्नति र गाउँमा विजुली गिरिजाबाबुकै पालामा ५६–५७ सालतिर आएको हो,’ उनी भन्छन् ।
तर, तीन दशकको अवधिमा हुनुपर्ने जति विकास र नागरिकको जीवनस्तर सुधारको काम भएको छैन । रतुवामाईको ५ र ६ को सीमा छुट्याउने कट्नु खोलाको पुल भत्किएको वर्षाै भयो । पुल नभएका कारण ह्युमपाइप राखेर डाइभर्सन बनाइएको छ । स्थानीय गोबिन्दप्रसाद खनालका अनुसार पुरानो पुल छेउमा नयाँ पुलका लागि जग उठाएको पनि ३–४ वर्ष भयो । तर, पुल निर्माणको काम पुरा भएको छैन । ‘पहिले ट्रक हिड्दा पुल भत्कियो, त्यसपछि बनेको छैन,’उनी भन्छन्,‘ बर्खामा हिड्न गाह्रो हुन्छ ।’
कांग्रेस एमालेमाथि रास्वपाको चुनौति
तीन दशकदेखि कांग्रेस र एमालेको दबदबा रहेको यो क्षेत्रमा यसपटक नयाँ दल रास्वपा र त्यसका उम्मेदवारको चर्चा गाउँ–गाउँमा छ । स्थानीय मतदातामा पुराना दलप्रतिको असन्तुष्टि प्रस्ट देखिन्छ । ‘यता त अहिले ओली हराऊ अभियान जस्तै चलेको छ,’ स्थानीय लक्ष्मीप्रसाद घिमिरे भन्छन्,‘यहाँ ओली त उठेका छैनन,तर उहाँको कारणले एमालेसँग असन्तुष्टि छ ।’
बेचनलाल पनि गाउँमा नयाँको हल्ला चलेको बताउँछन् । ‘अहिले सबैतिर नयाँ–नयाँ भन्छन्, फेसबुकमा पनि नयाँकै चर्चा छ । हेरौं यसपाली के हुन्छ,’ उनी भन्छन् ।

रंगेली नगरपालिका– ५ का देवनारायण मण्डल नयाँको चर्चा भएपछि कांग्रेसले चुनाव जित्ने दाबी गर्छन । उनी कांग्रेसको समर्थक हुन् । ‘ छोराहरु नयाँ बालेन भन्छन,’ उनी भन्छन,‘ हामी त कांग्रेसमा लागेका छौं, रुखमा हाल्छौं ।’ सबैलाई हेरेका सुनवर्षीका भजनलाल पण्डित यो पटक मत फेर्ने मनस्थीतिमा छन् ।
डाइनिया बजारकी सुखिया दास गाेप्य रुपमा मतदान गर्ने बताउँछिन् । ‘अहिले हामी केही भन्दैनौं, बाहिर भन्ने होइन,’ दास भन्छिन्,‘ हामीले त एमालेमा हालेको पहिले ।’
पुराना पार्टी एमालेका प्रतिबद्ध कार्यकर्ताहरू नै नेतृत्वप्रति असन्तुष्ट देखिएका छन् । रतुवामाई–६ सौठाका ७८ वर्षीय कर्णबहादुर बस्नेत यसको एक उदाहरण हुन् । जननेता मदन भण्डारीको गाउँका उनी भण्डारीकै प्रभावले माले हुँदै एमाले बनेका पुराना कार्यकर्ता हुन् । तर, यसपटक उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन् ।
२०२८ सालको झापा विद्रोहका क्रममा इश्वरी चुडालको हत्या हुँदा तत्कालीन प्रहरीले निर्दोष गाउँलेलाई पनि पक्राउ गरेको थियो । चुडालका छिमेकी रहेका कर्णबहादुरका दाजु इन्द्रबहादुर पनि त्यतिबेला पक्राउ परे । दाजुको पछिपछि प्रहरी कार्यालय पुगेका उनले त्यतिबेला निकै दुःख पाए । केपी ओली त्यही मुद्दामा १४ वर्ष जेल परे । त्यस घटनाले दिएको दुःखको आलो घाउ कर्णबहादुरको मनमा अझै छ । त्यसमाथि पछिल्लो समय ओलीको राजनीतिक बोली र व्यवहारले उनलाई थप चिढ्याएको छ । ‘ केपी ओलीले दुई पटक किड्नी फेरे, तर उनको बोली फेरिएन,’ आक्रोश पोख्दै कर्णबहादुर भन्छन्, ‘म २०२८ सालदेखिको माले हुँ, सूर्यको क्रियाशील । तर यसपाली चाहिँ फेरौं कि जस्तो लागेको छ ।’
नाति पुस्ताले घण्टीमा भोट हाल्न जोड गरिरहेको उनले सुनाए ।‘यसपाली घण्टीमा हालौं है हजुरबुबा भन्छन्,’ उनले भने,‘अहिले त २०६४ सालको माओवादीकै जस्तो माहोल छ ।’ गाउँमा पसेको विकासको भोक र नेतृत्वप्रतिको असन्तुष्टिले चुनावी माहोललाई रोचक बनाएको छ ।
फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल उम्मेदवार छन् । नेकपा एमालेले रंगेलीका पूर्वमेयर दीलिप बगडियालाई मैदानमा उतारेको छ । २०७४ र २०७९ मा आफ्नो उम्मेदवार नउठाएको (तत्कालिन माओवादी) नेपाली कम्युनिष्ट पार्टीले यो पटक चन्द्रवीर राईलाई मैदानमा उतारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण कार्की उम्मेदवार छन् । राष्ट्रीय उर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधव प्रसाद राजवंशी, जनता समाजवादी पार्टी, नेपालबाट विनोद कुमार सिंह गनगाई, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिल कुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले याे क्षेत्रबाट २०४८ सालमा जितेका थिए । २०५१ साल र २०५६ सालको निर्वाचन पनि उनले जिते । गिरिजाले माेरङ र सुनसरीका २ क्षेत्रमा जित्दा मोरङ १ छाडेपछि सोही वर्ष उपनिर्वाचन भयो । उपनिर्वाचनमा पनि कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्याय निर्वाचित भए । २०६४ सालको संविधानसभा निर्वाचनमा देशभर तत्कालिन माओवादीको लहर आउँदा मोरङ क्षेत्र नम्बर १ कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायले चुनाव जिते । २०७० सालमा भने कांग्रेसको किल्ला तोडियो । उपाध्यालाई नै पराजित गर्दै ऋषिकेश पोखरेल विजयी भए । २०७४ सालको निर्वाचनमा कांग्रेसको कमब्याक जित भयो । २०७४ को निर्वाचनको निर्वाचनमा मिनेन्द्र रिजालले ३५,८१९ मत ल्याएर जित्दा ऋषिकेश पोखरेलले ३४,०१४ मत पाएका थिए । २०७९ सालको निर्वाचनमा ३३१४८ मतसहित पोखरेल विजयी हुँदा कोइरालाले ३१९४० मत प्राप्त गरेकी थिइन् । रास्वपा उम्मेदवार ठगेन्द्र न्यौपानेले ४९८७ मत प्राप्त गरेका थिए । कानेपोखरी गाउँपालिकाका १,२,३, पथरीशनिश्चरे नगरपालिकाका ५र ६, रंगेली नगरपालिकाका १,२,३,८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटैं र सुनवर्षी नगरपालिकाका ९ वटै वडा रहेको क्षेत्र नम्बर २ मा १ लाख २९ हजार १८४ जना मतदाता छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)