माेरङ १ मा अन्तिम पटक चुनाव लड्दैछन् खतिवडा, मुख्य प्रतिस्पर्धी चार दल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट चौथो पटक चुनावी मैदानमा एमालेबाट घनश्याम खतिवडाका उम्मेदवार बनेका छन् । यो पटकको प्रतिस्पर्धा उनकाे प्रतिस्पर्धा मात्रै नभएर राजनीतिक जीवनकाे ‘अन्तिम लडाइँ’ पनि हो ।

२०७० को चुनावमा ७ कट्ठा र २०७४ को चुनावमा १० कट्ठा जग्गा बेचेर उनले चुनावी खर्च जुटाएका थिए । खतिवडा एमाले कोशी प्रदेशका अध्यक्षसमेत हुन् ।

२०७४ को चुनावताका उनी आफ्नी पत्नी दिलकुमारीलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न विराटनगरको होटल ह्यारिसन पुगेका थिए । कुराकानीका क्रममा खतिवडाले आफूले जग्गा बेचेर चुनाव लडेको सुनाए ।

ओलीलाई विश्वास लागेन र उनले पत्नी दिलकुमारीतिर हेर्दै सोधे, ‘यिनले साँच्चै कति जग्गा बेचे ?’ । जब पत्नीले ‘१७ ककट्ठा’ भन्ने जवाफ दिइन्, ओली झस्किए । उनले ठट्टा गर्दै भनेका थिए, ‘यिनले त तिमीलाई सडकमा पुर्‍याउने भए । बाँकी भएको जग्गा चाहिँ छिट्टै आफ्नै नाममा पास गरिहाल्नु ।’ ओलीको सुझावपछि खतिवडाले बाँकी सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिदिए र चुनाव जितेर संसद् छिरे ।

घनश्याम खतिवडा कुनै समय शिक्षक थिए । २०३८ देखि २०४२ सालसम्म मोरङको बुद्ध माविमा पढाउँदा उनको मासिक तलब ५ सय रुपैयाँ थियो । तर, मदन भण्डारी र गुरु बरालले ‘पूर्णकालीन राजनीति’मा आउन भनेपछि उनको जीवनले नयाँ मोड लियो ।

खतिवडा ‘स्थायी’ हुने तरखरमा थिए । उनले जागिर नछोड्ने मनसाय बनाएका थिए । तर, जननेता मदन भण्डारीले सोधे, ‘तपाईंको जागिर ठूलो कि पार्टीको आदेश ?’ यो प्रश्नले उनलाई निरुत्तर बनायो । अन्ततः पूर्वएमाले नेता अशोक राईले खतिवडाको राजीनामा लेखिदिए र उनी शिक्षकबाट पूर्णकालीन राजनीतिज्ञ बने ।

यसपटक मोरङ–१ को चुनावी मैदान निकै भिडभाडयुक्त र रोचक छ । यहाँ १७ जना उम्मेदवार छन् । जसमा नयाँ र पुराना शक्तिबीच कडा टक्कर देखिन्छ ।

१, खड्ग फागो (कांग्रेस) : उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख फागो विकासप्रेमी र जनस्तरमा भिजेका नेता मानिन्छन् ।

२, कुलप्रसाद साम्बा (नेकपा) : पूर्वप्रदेश सांसद र जनयुद्धका कमान्डर साम्बाको आफ्नै बलियो आधार इलाका छ ।

३, यज्ञमणि न्यौपाने (रास्वपा) : झापा–५ मा केपी ओलीसँग भिड्ने चर्चामा रहेका न्यौपाने मोरङ–१ मा आएपछि ‘घण्टी’को क्रेजले पुराना दललाई झस्काएको छ ।

४, शान्ति पाख्रिन (श्रम संस्कृति पार्टी) : हर्क साम्पाङ नेतृत्वको यो पार्टीको पहिलो आमसभा मोरङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लेटाङमा भएको थियो । सभामा हजारौं सहभागी थिए । श्रम संस्कृति पार्टीको प्रभाव पनि यहाँ निर्णायक हुन सक्छ ।

यसबाहेक राप्रपाका पूर्णबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलकुमारी लावतीले पनि उल्लेख्य मत काट्ने अनुमान गरिएको छ ।

मोरङ १ को चुनावी नतिजा सधैँ प्रतिस्पर्धात्मक हुने गरेको छ ।

२०४९ : खतिवडा तत्कालीन लेटाङ गाविसको अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसका डिगबहादुर लिम्बू पराजित ।

२०७० : कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुँदा खतिवडा दोस्रो भए ।

२०७४ : वामगठबन्धनको लहरमा खतिवडाले लिम्बूलाई नै हराए ।

२०७९ : खतिवडा थोरै मतान्तरले लिम्बूसँग पराजित भए । लिम्बूले २७,२९७ मत ल्याउँदा खतिवडाले २६,८६७ मत पाएका थिए ।

एमाले कोशी प्रदेश अध्यक्षसमेत रहेका खतिवडा यसपटक भावनात्मक कार्डका साथ मैदानमा छन् । उनी भन्छन्, ‘मैले सुरु गरेका अधुरा योजनाहरू पूरा गर्नका लागि यो मेरो अन्तिम प्रतिस्पर्धा हो । अर्को पटक म उठ्ने छैन ।’

प्रकाशित मिति: बिहिबार, १६ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.