पूर्वमा ´चुनावी घण्टी` बजाएर काठमाडौं फर्किए बालेन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान र धार्मिक यात्रा पूरा गरी शनिबार साँझ काठमाडौं फर्किएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गरी केही पूर्वको भ्रमणमा थिए ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि गत मंगलबार झापाको दमक आइपुगेका शाहले आफ्नो साताव्यापी भ्रमणलाई चुनावी रणनीतिका रूपमा प्रयोग गरे । उनी व्यवसायी कमलकिशोर मालपानीको ८ करोड मूल्य बराबरको ल्यान्ड रोभर डिफेन्डर गाडी चढेर झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङको फुङलिङ पुगेका थिए ।

विर्तामोड र दमकमा कार्यकर्तासँगको छलफलपछि उनी बिहीबार इलाम पुगेर रास्वपा उम्मेदवारको पक्षमा घरदैलोमा सहभागी भए । पाँचथरमा समर्थकहरूसँग भेटघाट गर्दै ताप्लेजुङ पुगेका उनले शुक्रबार बिहान प्रसिद्ध तीर्थस्थल पाथिभरा देवीको दर्शन समेत गरे ।

‘अनुमान होइन, अनुभूति चाहिन्छ’

पाथिभराकाे दर्शनपछि तेह्रथुमको म्याङलुङ पुगेका शाहले स्थानीय मतदातासँग अन्तरक्रिया गरे । रास्वपाका उम्मेदवार सुरेन्द्र कार्कीको पक्षमा मत माग्दै उनले राजनीतिमा भूगोल र जनजीवनको प्रत्यक्ष अनुभवको महत्त्वबारे चर्चा गरे । उनले भने, “तेह्रथुमको नाम कागज र विकिपिडियामा मात्र पढेर पुग्दैन, यहाँको माटोमा बसेर मान्छेसँग कुरा गरेपछि मात्र वास्तविक समस्या बुझिन्छ । भोलि संसदमा कुरा उठाउँदा अनुमानका भरमा होइन, अनुभूतिको आधारमा बोल्नुपर्छ ।”

संखुवासभाको मुढेबजार पुगेर उनले पूर्वी भेगको प्राकृतिक सुन्दरता र रुद्राक्ष खेतीको सम्भावनाबारे चर्चा गरे । संखुवासभा पहिलो पटक पुगेका शाहले उम्मेदवार मिङ्मा शेर्पालाई साक्षी राख्दै भने, “यो पूर्वी भेग कति सुन्दर छ भन्ने कुरा यहाँ आएपछि मात्र थाहा हुन्छ । यहाँको पर्यटन र कृषिलाई विश्वभर पुर्‍याउने वातावरण बनाउनुपर्छ ।”

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बालेन शाह दुवैले आफूलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेपछि झापा क्षेत्र नम्बर ५ को चुनावी सरगर्मीले राष्ट्रिय चर्चा पाएको छ । एमाले अध्यक्ष ओली पनि आफ्ना मतदाता भेटेर शुक्रबार नै काठमाडौं फर्किएका थिए ।

भ्रमणका क्रममा शाहलाई धनकुटाको हिले, धरान, इटहरी र विराटनगरमा समर्थकहरूले भव्य स्वागत गरेका थिए । कतै गाडीको छतबाट हात हल्लाउँदै त कतै समर्थकसँग हात मिलाउँदै उनले ‘घण्टी’को पक्षमा माहोल बनाएका थिए । यद्यपि, उनले सञ्चारकर्मीहरूसँग भने कुनै औपचारिक कुराकानी गर्न चाहेनन् ।

शनिबार साँझ विराटनगर विमानस्थल आइपुग्दा बालेनलाई हेर्न समर्थकहरूको ठूलो भिड लागेको थियो । भीड व्यवस्थापन गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । काठमाडौं फर्कनुअघि उनले विमानस्थल नजिकैको पर्पल हेज क्याफेमा रास्वपाका उम्मेदवार र अगुवा कार्यकर्तासँग संक्षिप्त छलफल गरेका थिए ।

रास्वपा कमल गाउँपालिकाका अध्यक्ष केदार चापागाईका अनुसार, बालेन शाहको यो भ्रमणले पूर्वमा पार्टीको पक्षमा उत्साहजनक माहोल सिर्जना गरेको छ । उनी केही समयपछि पुनः झापा क्षेत्र नम्बर ५ लाई नै केन्द्रित गरेर चुनावी अभियानमा फर्कने तयारीमा छन् ।

प्रकाशित मिति: शनिबार, ११ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.