झापा । नेपाली राजनीतिको केन्द्रविन्दु मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटकको चुनावी तापक्रम माघको चिसोमा पनि निकै तातिएको छ । वर्षौंदेखि यो क्षेत्रमा आफ्नो एकछत्र ‘राज’ चलाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध काठमाडौंको मेयर पद त्यागेर ‘प्रधानमन्त्री’ बन्ने लक्ष्यसहित मैदानमा उत्रिएका रास्वपा नेता बालेन शाहले चुनाैति दिएका छन् । याे प्रतिस्पर्धाले देशकै ध्यान खिचेको छ ।
मंगलबार उम्मेदवारी दर्ता गरेपछि दुवै हेभिवेट नेताहरू बुधबारदेखि नै आ-आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन् । सातौंपटक चुनावी अग्निपरीक्षा दिन लागेका ओलीलाई यसपटक ‘नयाँ लहर’ को चुनौती सामना गर्न हम्मेहम्मे परिरहेको देखिन्छ ।
दमकमा भाडाको घर लिएर चुनावी कमाण्ड सम्हालेका बालेन शाहलाई भेट्न आउनेहरूको लर्को थामिनसक्नु छ । बालेनको ‘स्व्याग’ ले झापाली युवालाई तानिरहेको छ ।
रोचक त के छ भने, बालेनलाई भेट्न बालबालिकादेखि लौरो टेक्ने वृद्धवृद्धासम्मको भिड छ । कांग्रेस र एमालेका युवा नेताहरूलाई फकाउन बालेनको टोली निकै सक्रिय देखिएको छ । बुधबार दिनभर भेटघाटमा व्यस्त बालेन बिहीबार पाथीभरा मन्दिर दर्शन गर्न जाने तयारीमा छन् ।
बालेनको आगमनले झापाको स्थापित राजनीतिक शक्तिमा ठूलै कम्पन ल्याइदिएको छ । ओलीको गृहनगर दमकमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका नगर अध्यक्ष छवि खतिवडा, उपाध्यक्ष विजय तामाङ र सचिव कमलप्रसाद गैरेले पार्टी परित्याग गरी बालेनको अभियानमा जोडिएका छन् ।
यति मात्र होइन, कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं र कमल गाउँपालिकाका सचिव महेन्द्र बुढाथोकीले पनि पार्टीको झण्डा त्यागेर रास्वपाको बाटो रोजेका छन् । एमालेको गढ मानिने ठाउँमा आफ्नै कार्यकर्ता बालेनतिर लागेपछि ओली यतिबेला दबाबमा देखिन्छन् ।
उम्मेदवारी दर्ताकै दिन यी दुई नेताबीचको दृश्य फरक देखिन्थ्यो । बालेन ६-७ हजार समर्थकको जुलुससहित तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय पुग्दा ओली भने सिमित कार्यकर्ता लिएर शान्त शैलीमा पुगेका थिए ।
आफ्नो गढमा असन्तुष्टि बढेको चाल पाएपछि ओलीले बुधबार दमकमा युवा भेला र कार्यकर्ता भेटघाटलाई तीब्रता दिएका छन् । २०४८ सालयता (२०६४ बाहेक) लगातार जित्दै आएका ओलीका लागि यसपटकको चुनाव प्रतिष्ठाको लडाइँ मात्र होइन, आफ्नो ‘विरासत’ जोगाउने चुनौती पनि बनेको छ ।
पूर्वप्राध्यापक मोहन भण्डारीको विश्लेषणमा ओलीलाई यसअघि राप्रपाको दरिलो साथ हुन्थ्यो, तर यसपटक राप्रपा एक्लै लड्दैछ । “ओलीका लागि यो चुनाव विगत जस्तो सहज छैन, बालेनको लहर र पार्टीभित्रकै असन्तुष्टिले उनलाई अप्ठ्यारोमा पार्न सक्छ,” भण्डारी भन्छन् ।
त्यस्तै, राप्रपाका कार्यकर्ता माधव मिश्रको भनाइ झन् रोचक छ: “ओली ओल्डम्यान भए, अहिलेका जनतालाई युवा जोस चाहिएको छ । त्यसैले बालेनको सम्भावना बलियो छ ।” तर, पहिलोपटक भोट हाल्न लागेका गौरीगञ्जका राज साह भने दोधारमा देखिन्छन् । उनी भन्छन्, “बालेनलाई माया त छ, तर भित्रभित्रै केपी ओलीको पकड पनि कमजोर छैन । केपी ओली भनेको केपी ओली नै हुन् ।”
गत निर्वाचनमा ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर रेकर्ड जित निकालेका थिए । त्यतिबेला रास्वपाका उम्मेदवारले ११ हजार मत मात्र पाएका थिए । तर, यसपटक रास्वपा आफैंले १८ हजार समानुपातिक मत यसअघि नै बटुलिसकेको र त्यसमा बालेनको व्यक्तिगत ‘क्रेज’ थपिँदा नतिजा उथलपुथल हुन सक्ने अनुमान गरिएको छ ।
झापा-५ मा २४ जना उम्मेदवार मैदानमा भए पनि भिडन्त भने यी दुई ‘प्रधानमन्त्रीका दाबेदार’ बीच नै हुने निश्चित छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)