विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग 

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् ।  विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट लिएका हुन् ।

१४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टीभित्र प्रतिपक्षीको धारको नेतृत्व गरे । जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाउँदा कोइराला बीचमा उभिएका थिए । अन्तिमा उनी शेरबहादुर देउवासँगै उभिए । तर, निर्वाचन आयोगको निर्णयपछि उनी नयाँ नेतृत्व स्वीकार गर्न तयार भए ।

कांग्रेस नेताहरुका अनुसार मोरङको ६ वटा क्षेत्र मध्ये कोइरालाले आफ्नो भागमा ३ वटा क्षेत्र लिएका छन् । मोरङ क्षेत्र नम्बर– २ मा डाक्टर मिनेन्द्र रिजाल र क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्मा उनको समूहका सदस्य हुन् ।  क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका महामन्त्री गुरुराज घिमिरे पनि कोइराला समूहमा थिए । विशेष महाधिवेशनको बेला उनले कोइराला समूह छाडेका थिए ।

इलाम क्षेत्र नम्बर– २ का उम्मेदवार भेषराज आचार्य पनि कोइराला समूहका हुन् ।  झापा क्षेत्र नम्बर २ की उम्मेदवार सरिता प्रसाईं डाक्टर कोइराला समूहमा छिन् । झापा क्षेत्र नम्बर १ का उम्मेदवार केशवराज पाण्डे पनि कोइराला समूहका हुन् ।

सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार राजिब कोइराला र क्षेत्र नम्बर ३ का उम्मेदवार विजयकुमार गच्छदार पनि कोइराला समूहका हुन् । सुनसरी क्षेत्र नम्बर ३ मा गगन थापाले विजयका भतिज बेदप्रकाश गच्छदारलाई टिकट दिएका थिए । तर, आफू असुरक्षित हुने देखेपछि शेखर कोइरालाले उनको टिकट रोकेर विजयकुमार गच्छदारलाई नै टिकट दिन लगाए ।

भोजपुरका उम्मेदवार बालकृष्ण थापा कोइराला समूहका हुन् । कोइराला समूहको दाबी अनुसार उदयपुर १ का उम्मेदवार विदुर बस्नेत र २ का उम्मेदवार रामकुमार राई पनि उनकै समुहका हुन् ।

सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार सुजेन्द्र तामाङ, धनकुटाका दिनेश राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका दीपिनकुमार श्रेष्ठ,पाँचथरका नरेन्द्रकुमार केरूङ, मोरङ १ मा खड्ग फागो सभापति गगन थापा समूहका हुन् ।

२८ वटा निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशका अन्य स्थानमा शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला समूहले पनि भागवण्डा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, ०८ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.