विराटनगर । झापाको रैथाने र अति सीमान्तकृत मेचे समुदायबाट राेशनी मेचे राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेकी छन् । झापा मेचीनगर–१२ (साविक धाइजन–३)मा जन्मिएकी मेचे अहिले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेपछि चर्चामा छन् ।
मेचे समुदाय मुख्यतया झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल क्षेत्रमा बसोबास गर्दछन् । नदी किनारलाई आफ्नो आधार बनाउने यो समुदायलाई सरकारले सीमान्तकृतको सूचीमा राखेर मासिक ४ हजार रुपैयाँ भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।
त्यही समुदायबाट प्रतिनिधित्व गर्दै रोशनीले राज्यको माथिल्लो सदन (राष्ट्रियसभा)सम्म पुग्ने ऐतिहासिक अवसर पाएकी हुन् । कांग्रेस एमाले र जसपा सम्मिलित गठबन्धन रहेका कारण उनले चुनाव जित्ने निश्चितजस्तै छ ।
रोशनीको शैक्षिक पृष्ठभूमि सबल छ । उनले २०५५ सालमा झापाको बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेकी थिइन् । अध्ययनलाई निरन्तरता दिँदै उनले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तीर्ण गरेकी छन् ।
बौद्धिक रूपमा प्रखर रोशनीले २०७४ सालमा अधिवक्ताको लाइसेन्स लिएर कानुनी क्षेत्रमा समेत आफ्नो पहिचान बनाएकी थिइन् । सीमान्तकृत समुदायबाट कानुन र समाजशास्त्र दुवै विषयमा दख्खल राख्ने उनी निकै कम महिलाहरूमध्ये एक हुन् ।
नेकपा (एमाले)को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य रहेकी रोशनी पार्टीभित्र एक इमानदार र सक्रिय कार्यकर्ताका रूपमा चिनिन्छिन् । उनको कार्यक्षमता र पार्टीप्रतिको निष्ठालाई कदर गर्दै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई समानुपातिकतर्फ जिल्ला र प्रदेशबाट सिफारिस गरिएको थियो ।
२ वर्षदेखि उनी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत छिन् । प्रधानमन्त्रीको सचिवालयमा रहेर राष्ट्रिय राजनीति र प्रशासनिक कार्यलाई नजिकबाट नियालेकी उनलाई पार्टीले यसपटक राष्ट्रियसभाको उम्मेदवार बनाएको हो ।
रोशनीको राजनीतिक यात्रा सधैँ सहज भने रहेन । यसअघि एमालेको महाधिवेशन प्रतिनिधि बन्ने क्रममा प्राविधिक कारणले योग्यता नपुग्दा उनी पछि परेकी थिइन् । सचिवालयको अनुभव र पार्टी नेतृत्वको विश्वासकै कारण उनले अहिले राष्ट्रियसभाको टिकट पाएकी हुन् ।
वर्तमान राजनीतिक समीकरण अनुसार एमाले र नेपाली कांग्रेसको बलियो गठबन्धन रहेका कारण रोशनी मेचेको राष्ट्रियसभामा जित निश्चित जस्तै देखिएको छ । उनी विजयी भएमा सीमान्तकृत मेचे समुदायबाट राष्ट्रियसभामा पुग्ने पहिलो व्यक्ति बन्ने छिन् । पार्टीले अवसर दिएका कारण सीमान्तकृत समुदायको मुद्दालाई राष्ट्रियसभामा राख्ने उनले बताइन् ।
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३ सय ६७ मतदाता छन् । ९३ प्रदेशसभा सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।
प्रदेश र स्थानीय तह मिलाएर कांग्रेस–एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को १ हजार ६ सय ४२ मतभार छ । गठबन्धनमा रहेको जसपाको १ सय २९ मतभार छ भने राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)