राष्ट्रियसभा निर्वाचन : सुनिल थापा निर्विराेध, दलित र महिला काेटामा प्रतिस्पर्धा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रियसभा सदस्य पदका लागि कोशी प्रदेशमा बुधबार मनोनयन दर्ता भएकाे छ । राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धनबाट राेशनी मेचे, साेम पाेर्तेल र सुनिल थापाले मनाेनयन दर्ता गरेका छन् । चुनावी गठबन्धनअनुसार उम्मेदवारी दर्ता भएसँगै ‘अन्य’ समूहमा कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित हुने अवस्था बनेको छ । दलित र महिला समूहमा भने प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार कोशी प्रदेशबाट राष्ट्रियसभामा दलित, महिला र अन्य समूहबाट १–१ गरी ३ जना सदस्य निर्वाचित हुनेछन् ।

एमालेबाट दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेको उम्मेदवारी दर्ता गराएका छन् । पोर्तेलकाे प्रस्तावक एकराज कार्की र समर्थक छवि चुडाल छन् भने मेचेका प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई छन् । अन्य समूहबाट कांग्रेसका सुनील थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई छन् ।

उक्त समूहमा थापाबाहेक अरु कुनै उम्मेदवारको मनोनयन नपरेपछि उनी एकल उम्मेदवार बनेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक प्रक्रिया पूरा भएपछि पुस २७ गते थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दलित र महिला समूहमा आफ्ना उम्मेदवार मैदानमा उतारेको छ । नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

न्यौपानेका प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना छन् भने सुन्दासका प्रस्तावक सपना परियार र समर्थक नमोनारायण माझी रहेका छन् । तर, अन्य समूहका लागि तय गरिएका उम्मेदवार हेमराज घिमिरे समयमै निर्वाचन अधिकृतको कार्यालय नपुग्दा उक्त समूहमा नेकपाको उम्मेदवारी दर्ता हुन सकेन ।

राष्ट्रियसभाको रिक्त १८ पदका लागि देशभर माघ ११ गते निर्वाचन हुँदैछ । तीमध्ये कोशी प्रदेशबाट ३ जना निर्वाचित हुनेछन् ।

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३ सय ६७ मतदाता छन् । ९३ प्रदेशसभा सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।

प्रदेश र स्थानीय तह मिलाएर एमालेको ४ हजार २ सय १०, कांग्रेसको ३ हजार ६ सय ८४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहितको नेकपाको १ हजार ६ सय ४२ मतभार छ । कांग्रेस–एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ । यही गठबन्धनमा रहेको जसपाको १ सय २९ मतभार छ भने राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

प्रकाशित मिति: बुधबार, २३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.