काठमाडौं । गुरुङ समुदायले आज (मंगलबार) परम्परागत र मौलिक उत्सवका रूपमा तमु ल्होसार पर्व भव्य रूपमा मनाउँदै छन् ।
पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यस पर्वलाई गुरुङ समुदायले आफ्नो सांस्कृतिक पहिचान, सामाजिक एकता र जीवनदर्शनसँग गाँसेर मनाउने गर्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिएको हो । यही अर्थमा तमु ल्होसार गुरुङ समुदायका लागि नयाँ वर्षको सुरुआत पनि हो ।
तमु ल्होसार सूर्यको गति र प्रकृतिसँग जोडिएको पर्व मानिन्छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस महिनाबाट सूर्यको तापक्रम क्रमशः बढ्दै जाने विश्वास गरिन्छ ।
यही प्राकृतिक चक्रसँग जोडेर पुस १५ गते तमु ल्होसार मनाउने गरिन्छ । जानकारहरूका अनुसार पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुने र यसपछि दिन लम्बिँदै तथा रात छोटिँदै जाने भएकाले पनि यस दिनको विशेष महत्त्व रहेको छ । यसलाई अन्धकारबाट उज्यालोतर्फको यात्रा र नकारात्मकताबाट सकारात्मकतर्फको परिवर्तनको प्रतीकका रूपमा लिने गरिन्छ ।
गुरुङ समुदायमा तमु ल्होसार चाडपर्व मात्र नभएर सामाजिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको दिन पनि हो । यस अवसरमा घरघरमा विशेष परिकार बनाइन्छ, कुलदेवताको पूजा गरिन्छ र परिवार तथा आफन्तबीच शुभकामना आदान–प्रदान गरिन्छ । परम्परागत विश्वासअनुसार नयाँ वर्षको पहिलो दिन राम्रो कामको सुरुआत गरे वर्षभरि शुभफल प्राप्त हुने मान्यता छ ।
यसै प्राकृतिक चक्रअनुसार गुरुङ समुदायपछि तामाङ र शेर्पा समुदायले पनि आआफ्नो मौलिक परम्परा अनुसार ल्होसार मनाउने गर्छन् । तामाङ समुदायले माघमा सोनाम ल्होसार र शेर्पा समुदायले फागुनमा ग्याल्पो ल्होसार मनाउने परम्परा छ । यसरी ल्होसार पर्व विभिन्न समुदायमा समय फरक–फरक भए पनि यसको मूल भाव वर्ष परिवर्तन र नयाँ आशाको सुरुआत नै हो ।
तमु ल्होसारको अवसरमा मंगलबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायको विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ देशका विभिन्न स्थानबाट आएका गुरुङ समुदायका व्यक्तिहरू परम्परागत एवं सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् ।
कार्यक्रममा गुरुङ संस्कृतिसँग सम्बन्धित नृत्य, गीत, बाजागाजा र परम्परागत परिकारको प्रदर्शनीसमेत गरिन्छ । यस वर्षको तमु ल्होसारलाई अझ भव्य बनाउन आइतबारदेखि नै टुँडिखेलमा ल्होसार महोत्सव सुरु गरिएको थियो ।
महोत्सवमा देखिएको हजारौँ सर्वसाधारणको सहभागितासँगै गुरुङ समुदायको मौलिक संस्कृति, खानपान र जीवनशैली नजिकबाट बुझ्ने अवसर मिलिरहेको छ । सहभागीहरूका अनुसार यस्ता महोत्सवले चाडपर्वको रौनक बढाउने मात्र नभएर विभिन्न समुदायबीच सांस्कृतिक सहिष्णुता र आपसी सम्मानलाई समेत मजबुत बनाउँछ । परम्परा, प्रकृति र पहिचानलाई एकसाथ जोड्ने तमु ल्होसारलाई गुरुङ समुदायसँगै बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजका लागि पनि सांस्कृतिक विविधताको सुन्दर उदाहरण मानिन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)