विराटनगर । दुई वटा टेबल, त्यसमाथि नोटका बिटाको थुप्रो र वरिपरि खुसी मुद्रामा हिसाबकिताब गरिरहेका किसानहरू । सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको यो तस्बिर संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलास्थित गोगनेका किसानहरूले अलैँची बिक्री गरेपछि आम्दानी बाँडफाँट गर्दैगर्दाकाे हाे ।
परम्परागत खेतीलाई छाडेर सामूहिक व्यावसायिक खेतीमा होमिएका गोगनेका किसानले सामूहिक खेतीबाट मात्रै यो वर्ष १ करोड १७ लाख रुपैयाँ भित्र्याएका छन् । यस वर्ष अलैँचीको बजार भाउ निकै राम्रो रहेकाले किसानहरू उत्साहित छन् । वडा सदस्य हेमराज राईका अनुसार गाेगनेका किसानहरूले याे वर्ष प्रतिमन ९८ हजार रुपैयाँका दरले १ सय १९ मन अलैँची बिक्री गरेका छन्।
उनका अनुसार हेर्दा पैसाको थाक देखिएपनि किसानले सहजै आम्दानी गरेका भने होइनन् । खेतीका लागि लगानी र मेहनत पनि पर्याप्त गरेका छन् । ‘बाहिरबाट पाइपमा पानी ल्याएर फिरफिरे मार्फत पानी पटाउनु पर्छ,वर्षमा चार पटक गोड्नु पनि पर्छ’ उनले भने,’ टिप्नु पर्छ, छाेडार सुकाएपछि मात्रै विक्रीका लागि तयार हुन्छ ।’
गोगने गाउँका ४६ परिवार मिलेर १२–१३ जनाका विभिन्न समूह बनाई सामूहिक खेती गर्दै आएका छन् । सामूहिक खेतीबाहेक किसानहरूले व्यक्तिगत रूपमा पनि अलैँची लगाएका छन् । वडा सदस्य राईका अनुसार यो वर्ष सो वडाका किसानहरूले १० करोडभन्दा बढीको अलैँची बिक्री गरेका छन् ।
गोगनेका किसानले करिब ५–६ वर्षअघि सामुदायिक वनको जग्गा भाडामा लिएर व्यावसायिक अलैँची खेती सुरु गरेका थिए । यो सामूहिक प्रयासले अहिले उनीहरूको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याएको छ । ‘हाम्रो वडाका किसानले १० करोड भन्दा बढीको अलैची बेच्नु भएको छ,’ उनले भने,‘ गोगनेमा ४६ परिवारले १२–१३ जनाको समूह बनाएर खेती गर्नु भएको छ ।’
किसानकाे खेती गर्ने तरिका पनि व्यवस्थित छ । किसानले आफ्नो जिम्मेवारी बाँडफाँट गरेका छन् । यदि कसैले तोकिएको जिम्मेवारी पूरा नगरेमा हर्जाना तिर्नुपर्ने नियमसमेत बनाइएको छ । यसले गर्दा काममा अनुशासन र अपनत्व बढाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)