छाेरी नदिएकाे झाेकमा ज्वाइँ ससुरालाई लागुऔषध मुद्दामा फसाउने षडयन्त्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँमा देखिएको छ ।

मोरङको धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंह एउटी युवतीलाई मन पराउँथे । उनी युवतीको घरमा हात माग्न पनि पुगेका थिए । तर, युवती र उनको परिवारले विशाललाई अस्वीकार गरे ।

मंसिरमा युवतीको विवाह अर्कै युवकसँग भयो । आफूले मन पराएको केटी अर्कैको भएपछि विशालको युवतीको परिवारलाई फसाउने योजना बनाए ।

फिल्मी शैलीजस्तो देखिने योजना अनुसार विशालले सुरुमा युवतीका बुवालाई फसाउन खोजे । त्यसपछि श्रीमानलाई निशाना बनाए ।

मंसिर २७ गते धनपालथान–४ कर्सिया बजारमा प्रदेश–१–०४–००२ प ६४७१० नम्बरको मोटरसाइकलको इन्डिकेटरभित्र लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) लुकाइएर राखिएको सूचना प्रहरीमा पुग्यो । प्रहरी पुग्दा मोटरसाइकल चालक २९ वर्षीय राजीव चौधरी खाजा खाँदै थिए ।

प्रहरीले खानतलासी गर्दा १३.३१० ग्राम लागुऔषध ब्राउन सुगर भेटियो । तर, राजीवको हाउभाउ र आत्मविश्वास देखेपछि प्रहरी अलमलमा पर्यो । उनी निर्दोष जस्तै देखिन्थे ।

प्रहरीलाई शंका लाग्यो । ठीक यस्तै घटना २०८२ वैशाख २० गते पनि भएको थियो । त्यसबेला चन्द्रशेखर मण्डलको मोटरसाइकलमा लागुऔषध भेटिएको थियो । तर, ल्याब रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रहरीले दुवै घटनालाई जोडेर हेर्दा रोचक तथ्य खुल्यो । पहिले पक्राउ परेका चन्द्रशेखर र अहिले पक्राउ परेका राजीव नाताले ससुरा–ज्वाइँ रहेछन् ।

दुवै घटनामा प्रहरीलाई सुराकी दिने व्यक्ति एउटै थिए । त्यसपछि प्रहरीले सुराकी दिने विराटनगर महानगरपालिका–९ का २७ वर्षीय राजा धोवीलाई नियन्त्रणमा लियो । विशालकुमार सिंहको योजनामा १० हजार रुपैयाँको लाेभमा मोटरसाइकलमा लागुऔषध राखेको स्वीकार गरे । त्यसपछि राजिव घर फर्किए ।

धोवीको बयानपछि प्रहरीले विशालका सहयोगीहरू रोशन मण्डल र पारस मण्डललाई पक्राउ गर्यो । मुख्य योजनाकार विशालकुमार सिंह पनि पक्राउ परे । पक्राउ परेपछि विशालले घटना स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा रहेका चारै जना पेसेवर चोर र पटके अपराधी हुन् । वाइरिङको काम गर्ने आवरणमा उनीहरू अपराधमा सक्रिय रहने गरेको प्रहरीले जनाएको छ ।

‘यदि हामीले सतही अनुसन्धान मात्र गरेको भए एक निर्दोष व्यक्ति जेलमा जाने अवस्था थियो  ,’ प्रहरी उपरीक्षक कटवालले भने,‘हामीले गहिराइमा पुगेर अनुसन्धान गर्दा निर्दोष जोगिए र षड्यन्त्रकारी पक्राउ परे ।’

प्रकाशित मिति: बुधबार, ०२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.