१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या : ५९ वर्षीय छिमेकी पक्राउ पर्दा परिवार विस्थापित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको बलात्कारपछि भएको विभत्स हत्याले सिंगो समाजलाई स्तब्ध बनायाे ।

विश्वासिला मानिने छिमेकी ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीबाट बालिकाको हत्या भएपछि अहिले दुई परिवारकाे जीवन तहसनहस भएको छ । नवीन गाैतमकाे परिवारले छाेरी गुमाएकाे छ । आराेपी पदमबहादुरकाे परिवार गाउँबाट विस्थापित भएकाे छ ।

गत असोज २१ गते अचानक हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो। प्रहरीले चलाएको ‘जस्टिस फर अंशु गौतम’ (जग) अपरेसन अन्तर्गत लामो अनुसन्धानपछि मंसिर १८ गते छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेका थिए ।

प्रहरीका अनुसार अधिकारीले ‘घाँस काट्न सघाए पैसा दिन्छु’ भन्दै फकाएर बालिकालाई जंगल लगेका थिए। त्यहाँ बलात्कार गरेपछि पोल खुल्ने डरले सुरुमा घाँटी थिचेर हत्या गरेको र पछि हँसियाले रेटेर टाउको अलग गराएको उनले स्वीकार गरेका छन् ।

पदमबहादुरले आफ्नो अपराध स्वीकार गरेपछि गाउँमा ठूलो आक्रोश फैलियो । उत्तेजित भीडले अधिकारीको घरमा तोडफोड गरेपछि सुरक्षा खतरा बढेको भन्दै उनको परिवार गाउँ छाड्न बाध्य भयो ।

अधिकारीकी श्रीमती, छोरा र छोरी अहिले आफन्तको शरणमा छन् । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाका अनुसार आरोपी पक्राउ परेलगत्तै परिवार विस्थापित भएको हो । “आरोपीले गल्ती गरे पनि त्यसको सजाय परिवारले पाउनु हुँदैन,” उनले भनिन्, “अवस्था सामान्य बन्दै गएपछि परिवारलाई पुनर्स्थापित गराउने प्रयास गर्नेछौं ।”

दुवै परिवार २०४३ सालको बाढीपीडितका रूपमा एकैसाथ अहिले बसिरहेकाे स्थानमा बसोबास गर्न आएका थिए र उनीहरूको आँगन समेत जोडिएको छ ।

छोरी गुमाएको पीडामा रहेका नवीन गौतमको परिवारको आर्थिक अवस्था निकै दयनीय छ । कागती बेचेर दैनिक गुजारा चलाउने गौतम परिवारलाई छोरीको काजकिरिया गर्नसमेत आर्थिक अभाव भयो । यो अवस्था देखेपछि स्थानीय समुदाय र संघसंस्थाहरूले सहयोगको हात अघि बढाएका छन् । स्थानीय राममणी बरालको सक्रियतामा सामाजिक सञ्जालमार्फत सहयोग संकलन अभियान चलाइएको छ ।

प्रकाशित मिति: बुधबार, ०२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.