विराटनगर । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वशिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित उपाध्यायको काठमाडौंस्थित ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा निधन भएको हो ।
नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले उपाध्यायको निधनको पुष्टि गरेका छन् । मोरङ स्थायी घर भएका उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए ।
उपाध्याय तत्कालीन मोरङ क्षेत्र नम्बर १ (हाल क्षेत्र नम्बर २) बाट दुई पटक सांसद निर्वाचित भएका थिए । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका थिए । कोइरालाले मोरङको सिट छोडेपछि भएको उपनिर्वाचनमा उपाध्याय विजयी हुँदै शिक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ जिल्लाबाट नेपाली कांग्रेसको साख जोगाउँदै जित निकाल्ने उनी एक्ला नेता थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।
कांग्रेस नेता यदु विष्टका अनुसार दोस्रो संविधानसभा निर्वाचनपछि धर्मपत्नीको निधन भएलगत्तै उनी सक्रिय राजनीतिबाट विस्तारै टाढिएका थिए । “मोरङमा कांग्रेसको कठिन समयमा (२०६४ साल) उहाँले मात्र चुनाव जित्नुभएको थियो,” विष्ट सम्झन्छन्, ‘उहाँ जनतासँग प्रत्यक्ष संवादमा विश्वास गर्ने शालिन र बौद्धिक नेता हुनुहुन्थ्यो ।”
उपाध्याय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र समेत मानिन्थे । उनीसँग लामो समय संगत गरेका पत्रकार कुमोद अधिकारीका अनुसार उपाध्यायको स्मरण शक्ति निकै तेज थियो । “उहाँ एकपटक चिनजान भएको मानिसलाई कहिल्यै बिर्सनुहुन्नथ्यो र सबैलाई नामले नै सम्बोधन गर्नुहुन्थ्यो,” अधिकारी भन्छन्, “सादा जीवनशैलीका कारण उहाँ कार्यकर्तामाझ निकै लोकप्रिय हुनुहुन्थ्यो।”
भारतबाट राजनीतिशास्त्रमा स्नातक गरेका उपाध्यायका दुई छोरा र एक छोरी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)