आठौं पटक चुनाव लड्ने तयारीमा विजयकुमार गच्छदार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पुनः संसदीय निर्वाचनको मैदानमा उत्रिने तयारीमा जुटेका छन् । संसदीय राजनीतिका ‘चतुर खेलाडी’ मानिने ७१ वर्षीय गच्छदारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट तयारी थालेका हुन् ।

२०४८ सालयता निरन्तर सातपटक निर्वाचन लडिसकेका गच्छदारका लागि यो आठौं चुनावी यात्रा हुनेछ। तर, यसपटकको यात्रा उनका लागि विगतजस्तो सहज भने देखिएको छैन ।

गच्छदारले क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सर्वसम्मत (एकल) सिफारिस गराउन चाहेका थिए । यसका लागि उनले क्षेत्रीय समितिलाई दबाब समेत दिए  तर, समितिले गच्छदारको एकल नाम पठाउनुको साटो उनीसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुने अन्य दुई जनामा दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र ओम थापा छन्। मेयर वेदनारायण नातामा विजयकुमार गच्छदारका भतिज पर्छन् ।

कांग्रेस जिल्ला सचिव वीरेन्द्र साहका अनुसार क्षेत्रीय समितिको सिफारिसमाथि जिल्ला समितिमा छलफल हुनेछ । उनले भने, ‘विजयकुमार गच्छदारको एकल नाम सिफारिस गर्ने प्रयास भए पनि तीन जनाको नाम आएको मौखिक जानकारी छ। अब बस्ने जिल्ला समितिको बैठकमा यसबारे निर्णय हुनेछ ।’

२०४८ सालयताका ६ वटा निर्वाचनमा अपराजित रहेका गच्छदारले २०७९ को निर्वाचनमा भने पहिलो पटक पराजय भोग्नुपर्‍यो । सो निर्वाचनमा उनी एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए । त्यसअघि २०७४ को निर्वाचनमा गच्छदारले चौधरीलाई ३२१ मतान्तरले हराउँदा धाँधलीको आरोप समेत लागेको थियो ।

२०४८ देखि २०७४ सम्म १२ पटक मन्त्री बनिसकेका गच्छदारको राजनीतिक यात्रा पछिल्लो समय ओरालो लागेको विश्लेषण गरिन्छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका उनी विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका हुन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाइएको दाबी गर्दै आएका उनी अब पुनः सक्रिय राजनीति मार्फत जनअनुमोदन खोज्ने तयारीमा छन् ।

गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ मा कांग्रेसबाट तथा २०६४ र २०७० मा मधेसी जनअधिकार फोरम (र पछि लोकतान्त्रिक फोरम) बाट चुनाव जितेका थिए ।

यी हुन अन्य क्षेत्रबाट सिफारिस उम्मेदवार  

क्षेत्र नं १ : मीनबहादुर विश्वकर्मा, उमेश थापा, चन्द्रशेखर लामा, निर्मला गुरुङ, माधवबहादुर घिसिङ, रुक्मिना गौतम, विनोदकुमार राई र सन्दीप श्रेष्ठ

क्षेत्र नं २: राजीव कोइराला, राजीव ढुङ्गाना र सीताराम मेहता ।

क्षेत्र नं ४: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी र नवीन श्रेष्ठ ।

प्रकाशित मिति: बिहिबार, २६ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.