उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण  भएकाे हाे । उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय पनि भएको छ ।

गत वर्ष सरकारले कटौती गरेकाे उखुको प्रतिक्विन्टल ३५ रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले त्यो रकम पाउन सकेका छैनन् ।

किसानले ६ सय ५५ रुपैयाँ लागतमा उखु खेती गर्दा ६ सय २० रुपैयाँ प्रतिक्विन्टल मूल्य पाएको गुनासो गर्दै आएका थिए । तर, सरकारले अहिले पनि पुरानै भाउ निर्धारण गरेको छ ।

९ मंसिरमा कृषिमन्त्री डा. मदन परियारलाई किसानले १३ मंसिरभित्र उखुको मूल्य तोक्न अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटम लगत्तै किसान र मन्त्रालयबीच वार्ता भएको थियो । विगतमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले उखु खेतीमा अनुदान दिँदै आएको थियो ।

तर, खर्च अभाव कारण देखाउँदै सरकारले दिँदै आएको अनुदानमा ५० प्रतिशतले कटौती गरेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.