एनपीएल : पहिलो क्वालिफायरमा पूर्व-पश्चिमकाे प्रतिस्पर्धा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज पूर्वी नेपालकाे टाेली विराटनगर किंग्स र पश्चिम नेपालकाे टाेली सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ । हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रकाशित मिति: मङ्गलबार, २४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.