देशभर घट्न थाल्याे बायोग्यास प्लान्टकाे प्रयाेग

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टकाे प्रयाेग घट्न थालेकाे छ । नेपालमा दशकौंसम्म प्रयाेग गर्न मिल्ने भन्दै अनुदानमा निर्माण गरिएकाे प्लान्टकाे प्रयाेग दर घटेकाे हाे ।

काठमाडौं विश्वविद्यालय नवीकरणीय तथा दिगो ऊर्जा प्रयोगशालाले गरेको अध्ययनले बायोग्यास प्रविधिको प्रयोगमा स्पष्ट गिरावट आएको देखिएको छ । अध्ययन अनुसार यो प्रविधि बढी प्रचलनमा रहेका मध्यपहाडी र तराई भेगका धेरैजसो प्लान्ट प्रयोगबिहीन अवस्थामा रहेको पाइएको छ ।

१० जिल्लाका फिल्ड अवलोकन र २ हजार ५५९ घरपरिवारसँगको अन्तर्वार्ताका आधारमा तयार पारिएको यस अध्ययन अनुसार धेरै प्लान्ट भत्किएको, ग्यास ट्याङ्की (डाइजेस्टर) चर्किएको, मिक्सर (घुलाउने यन्त्र) जाम भएको र पाइपलाइन खिया लागेको अवस्थामा भेटिएको छ ।

तनहुँ जिल्लामा मात्र ५९ प्रतिशत प्लान्टले काम गर्न छाडेको पाइएको छ, जुन अध्ययन गरिएका क्षेत्रमध्ये सबैभन्दा उच्च असफलता दर हो । अध्ययन अनुसार तनहुँ सबैभन्दा बढी बायोग्यास प्लान्टको पकड भएको जिल्ला हो । सोहीकारण यस जिल्लामा गरिने अध्ययनले देशभरको अवस्था प्रतिविम्बित गर्ने अध्ययनले बताएको छ ।

किन प्रयोग हुन छाड्यो बायोग्यास प्लान्ट ?

अध्ययन अनुसार प्राविधिक असफलता, ग्रामीण जीविकोपार्जनमा आएको परिवर्तन र त्रुटिपूर्ण नीतिगत ढाँचाले राष्ट्रिय बायोग्यास प्रबर्द्धन कार्यक्रम कमजोर बनेको हो । तथ्यांक अनुसार मूल्यांकनमा समावेश १० जिल्लामा सर्वेक्षण गरिएकामध्ये ५४ प्रतिशत प्लान्ट काम नलाग्ने अवस्थामा छन् । १ हजार ३८० घरेलु प्रणाली काम नलाग्ने अवस्थामा छन् । यस्तो प्लान्टको लागत करिब ८० हजार रुपैयाँ हुने गर्छ । जसअनुसार सर्वेक्षण गरिएकामा मात्रै ११ करोड भन्दा बढीको लगानी खेर गएको देखिएको छ ।

नेपालमा ४ लाख ५० हजार घर परिवारमा बायोग्यास प्लान्ट प्रणाली जडान गरिएको थियो ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुनिलप्रसाद लोहनीका अनुसार यस अध्ययनले नेपालको बायोग्यास क्षेत्रमा देखिएका प्रमुख चुनौतिलाई स्पष्ट रुपमा देखाएको छ ।

कुन जिल्लामा कति बायोप्लान्ट सञ्चालनमा छन् ?

तनहुँ : ४१ प्रतिशत

लमजुङ : ४२ प्रतिशत

कास्की : ५० प्रतिशत

चितवन : ४३ प्रतिशत

मकवानपुर : ४८ प्रतिशत

इलाम : ४३ प्रतिशत

झापा : ५८ प्रतिशत

मोरङ : ४४ प्रतिशत

सर्लाही : ५८ प्रतिशत

सिन्धुली : ४२ प्रतिशत

प्रकाशित मिति: सोमबार, २३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.