देशभर घट्न थाल्याे बायोग्यास प्लान्टकाे प्रयाेग

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टकाे प्रयाेग घट्न थालेकाे छ । नेपालमा दशकौंसम्म प्रयाेग गर्न मिल्ने भन्दै अनुदानमा निर्माण गरिएकाे प्लान्टकाे प्रयाेग दर घटेकाे हाे ।

काठमाडौं विश्वविद्यालय नवीकरणीय तथा दिगो ऊर्जा प्रयोगशालाले गरेको अध्ययनले बायोग्यास प्रविधिको प्रयोगमा स्पष्ट गिरावट आएको देखिएको छ । अध्ययन अनुसार यो प्रविधि बढी प्रचलनमा रहेका मध्यपहाडी र तराई भेगका धेरैजसो प्लान्ट प्रयोगबिहीन अवस्थामा रहेको पाइएको छ ।

१० जिल्लाका फिल्ड अवलोकन र २ हजार ५५९ घरपरिवारसँगको अन्तर्वार्ताका आधारमा तयार पारिएको यस अध्ययन अनुसार धेरै प्लान्ट भत्किएको, ग्यास ट्याङ्की (डाइजेस्टर) चर्किएको, मिक्सर (घुलाउने यन्त्र) जाम भएको र पाइपलाइन खिया लागेको अवस्थामा भेटिएको छ ।

तनहुँ जिल्लामा मात्र ५९ प्रतिशत प्लान्टले काम गर्न छाडेको पाइएको छ, जुन अध्ययन गरिएका क्षेत्रमध्ये सबैभन्दा उच्च असफलता दर हो । अध्ययन अनुसार तनहुँ सबैभन्दा बढी बायोग्यास प्लान्टको पकड भएको जिल्ला हो । सोहीकारण यस जिल्लामा गरिने अध्ययनले देशभरको अवस्था प्रतिविम्बित गर्ने अध्ययनले बताएको छ ।

किन प्रयोग हुन छाड्यो बायोग्यास प्लान्ट ?

अध्ययन अनुसार प्राविधिक असफलता, ग्रामीण जीविकोपार्जनमा आएको परिवर्तन र त्रुटिपूर्ण नीतिगत ढाँचाले राष्ट्रिय बायोग्यास प्रबर्द्धन कार्यक्रम कमजोर बनेको हो । तथ्यांक अनुसार मूल्यांकनमा समावेश १० जिल्लामा सर्वेक्षण गरिएकामध्ये ५४ प्रतिशत प्लान्ट काम नलाग्ने अवस्थामा छन् । १ हजार ३८० घरेलु प्रणाली काम नलाग्ने अवस्थामा छन् । यस्तो प्लान्टको लागत करिब ८० हजार रुपैयाँ हुने गर्छ । जसअनुसार सर्वेक्षण गरिएकामा मात्रै ११ करोड भन्दा बढीको लगानी खेर गएको देखिएको छ ।

नेपालमा ४ लाख ५० हजार घर परिवारमा बायोग्यास प्लान्ट प्रणाली जडान गरिएको थियो ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुनिलप्रसाद लोहनीका अनुसार यस अध्ययनले नेपालको बायोग्यास क्षेत्रमा देखिएका प्रमुख चुनौतिलाई स्पष्ट रुपमा देखाएको छ ।

कुन जिल्लामा कति बायोप्लान्ट सञ्चालनमा छन् ?

तनहुँ : ४१ प्रतिशत

लमजुङ : ४२ प्रतिशत

कास्की : ५० प्रतिशत

चितवन : ४३ प्रतिशत

मकवानपुर : ४८ प्रतिशत

इलाम : ४३ प्रतिशत

झापा : ५८ प्रतिशत

मोरङ : ४४ प्रतिशत

सर्लाही : ५८ प्रतिशत

सिन्धुली : ४२ प्रतिशत

प्रकाशित मिति: सोमबार, २३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.