१३ वर्षीया अंशुको बलात्कारपछि हत्या : यसरी खुल्यो रहस्य

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको घटनाको रहस्य प्रहरीले डेढ महिनापछि सुल्झाएको छ ।

बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि प्रहरीले हत्यामा संलग्न ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हाे ।

अनुसन्धानका क्रममा छोरा जेलबाट छुटेकै भोलिपल्ट अधिकारी भारत भागेपछि प्रहरीको शंका उनीमाथि सोझिएको थियो । सोही ‘क्लु’  पछ्याउँदै जाँदा प्रहरी अपराधीसम्म पुगेकाे हाे । याे अनुसन्धानलाई प्रहरीले ‘अपरेशन जग’ ( जस्टिस फर अंशु गाैतम) नाम दिएकाे थियाे ।

यसरी भएको थियो घटना

गत असोज २१ गते दिउँसो अंशु आफ्नी छिमेकी साथी युरिकासँग स्कुल चोकमा खेलिरहेकी थिइन् । दिउँसो करिब ३ बजे त्यहाँ पुगेका छिमेकी पदमबहादुरले युरिकालाई ५ रुपैयाँ दिएर दिदी खोज्न पठाए  ।

एक्लै भएकी अंशुलाई उनले ‘घाँस काट्न सघाइदिनु, पैसा दिन्छु’ भन्दै फकाए । पैसाको प्रलोभनमा परी अंशु राजी भइन् । अधिकारी हँसिया र डोरी बोकेर साइकलमा जंगलतर्फ लागे भने बालिका पैदलै गइन् । जंगलको छेउमा पुगेपछि अधिकारीले बालिकालाई साइकलमा राखेर सुनसान स्थानमा पुर्‍याए ।

त्यहाँ घाँस काट्ने क्रममा उनले बालिकामाथि जबरजस्तीको प्रयास गरे । बालिकाले प्रतिकार गरिन्, तर अधिकारीले जबरजस्ती करणी गरे। पोल खुल्ने डर र पुरानो रिसइबीका कारण उनले बालिकाको घाँटी थिचे । घाँटी थिच्दा मृत्यु भइसकेकोमा शंका लागेपछि उनले साथमा रहेको हँसियाले घाँटी रेटे ।  शवलाई त्यहीँ छाडेर उनी घाँसको भारी बोकी घर फर्किए ।

घटनापछि अधिकारीले शंका नहोस् भनेर निकै चलाखीपूर्ण व्यवहार देखाए । बालिका साँझसम्म घर नफर्किएपछि उनी परिवारसँगै खोजीमा जुटे । परिवारलाई सान्त्वना दिए।  भोलिपल्ट प्रहरीमा उजुरी दिँदादेखि शव खोज्नेसम्मका काममा उनी सक्रिय देखिए ।
हराएको १८ दिनपछि कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र बालिकाको शव क्षतविक्षत अवस्थामा फेला पर्‍यो । शव र कपडाहरू छरिएका थिए ।

बालिकाले मोबाइल नबोक्ने र घटनाको प्रत्यक्षदर्शी कोही नहुँदा प्रहरीलाई अनुसन्धानमा ठूलो चुनौती थियो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार, प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यो भने १६ जनाको ‘पोलिग्राफ टेस्ट’ समेत गर्‍यो ।

छिमेकी र वृद्ध भएकाले सुरुमा पदमबहादुरमाथि प्रहरीले खासै शंका गरेको थिएन । तर, प्रहरीले लेटाङ आउने-जाने मानिसको ‘प्रोफाइल’ अध्ययन र जंगल जानेहरूको निगरानी भने गरिरहेको थियो ।

अनुसन्धान साँघुरिदै जाँदा एउटा संयोगले घटनाको मोड बदल्यो । जबरजस्ती करणी मुद्दामा जेल परेका पदमबहादुरका छोरा कात्तिक १८ गते कैद भुक्तान गरेर घर फर्किए । छोरा आएको भोलिपल्टै (कात्तिक १९ गते) पदमबहादुर भने ‘म कमाउन जान्छु, घर सम्हाल’ भन्दै अन्य सदस्यसँग सल्लाह नगरी भारतको मेघालयतिर लागे ।

छोरा जेलबाट छुट्नु र बाबु लगत्तै भारत भाग्नुलाई प्रहरीले गम्भीरतापूर्वक लियो । यही विन्दुबाट अनुसन्धान पदमबहादुरमा केन्द्रित भयो ।

भारतको मेघालयमा गाई फर्ममा काम गर्न थालेका अधिकारीलाई प्रहरीले आफन्त मार्फत घर बोलाउने प्रयास गर्‍यो । सुरुमा आउन नमानेका उनी आफन्तको आग्रहपछि मंसिर १८ गते घर फर्किए ।

प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुरुमा उनले इन्कार गरे । तर, पछि उनले अपराध स्वीकारे । प्रहरी स्रोतका अनुसार, भारतमा गाई दुहुने क्रममा बाल्टीमा रगत देखेपछि उनलाई अंशुको हत्या गरेको दृश्य याद आएको र निकै आत्मग्लानी भएको बयान दिएका छन् ।

“बाबु-आमासँगको रिसइबी र तत्कालको आवेशका कारण घटना घटाएको हुँ, अहिले मलाई पश्चाताप छ,” अधिकारीको बयान उदृत   गर्दै प्रहरीले भन्याे ।

मोरङ प्रहरी प्रमुख कटवालका अनुसार, पक्राउ परेका अधिकारीविरुद्ध जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो ।

प्रकाशित मिति: आइतबार, २२ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.