समानुपातिकतर्फ चुनाव लड्ने दलसँग निवेदन आह्वान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ । शुक्रबार सूचना निकालेर आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको हो ।

दल दर्ताका लागि मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्मको समय दिइएको छ । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दल प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्नेछ ।

प्रत्यक्षतर्फ निर्वाच्न प्रयोजनका लागि ११७ वटा दल दर्ता भएका छन् । राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्ने हुन्छ ।

राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.