पूर्वी नेपालमा कुलमान घिसिङकाे दुई दिन : वैकल्पिक शक्तिलाई एकताकाे सन्देश, हर्कले भेट्न मानेनन्

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ‘उज्यालो नेपाल पार्टी’ को घोषणासँगै राजनीतिक गतिविधि बढाएका ऊर्जा तथा भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले दुई दिन पूर्वी नेपालमा बिताए । सरकारी संरचनाको निरीक्षणका लागि आइतबार आएका उनले राजनीतिक भेटघाट पनि गरे ।

आइतबार धरान र सोमबार मोरङको बेलबारीमा आयोजित कार्यक्रममा उनले वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए । बेलबारीमा आयोजित अन्तरक्रियामा पार्टीको नाम उल्लेख नभए पनि ब्यानरमा घिसिङको तस्बिर राखिएको थियो, जहाँ स्थानीयले उनलाई भव्य स्वागत गरे ।

वैकल्पिक शक्ति एक हुनुपर्छ

बेलबारीस्थित आदिवासी जनजाति महासंघको भवनमा करिब १२ मिनेट सम्बोधन गर्दै घिसिङले देशको समृद्धिका लागि नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । ‘देशको समृद्धिका लागि एउटा क्षेत्रको उज्यालोले मात्र पुग्दैन,’ उनले भने,’ हामीले सुशासन, सामाजिक न्याय, र गरिबी निवारणको उज्यालो ल्याउनुपर्छ। रोजगारी सिर्जना गरेर विदेश जाने बाध्यता अन्त्य गर्ने उज्यालो आवश्यक छ।’

रवि लामिछाने र बालेन शाहसँगको एकताका विषयमा सोधिएको प्रश्नमा उनले सबै वैकल्पिक शक्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘हामी नयाँ भनिने र वैकल्पिक शक्तिहरूले एक-अर्काको विरोध गर्नुभन्दा पनि एकताबद्ध भएर अघि बढ्ने दिन आएको छ,’ उनले भने।

कार्यक्रमको अन्त्यमा स्थानीय पत्रकारहरूले घिसिङलाई  प्रश्न पनि गरेका थिए । चुनावपछि प्रधानमन्त्री को बन्छ – तपाईं कि रवि लामिछाने?’ भन्ने अन्तिम प्रश्नको भने उनले जवाफ दिएनन्, केवल मुस्कुराएर फर्किए ।

हर्क साम्पाङले भेट्न मानेनन्

कुलमान घिसिङको कार्यक्रममा भेला भएका धेरैजसो समर्थक धरानका मेयर हर्क साम्पाङका समेत शुभचिन्तक थिए । उज्यालो नेपाल पार्टीका नेता डकेन्द्रसिंह थेगिमको पहलमा यो भेला आयोजना गरिएको थियो ।

घिसिङले आइतबार धरान पुग्दा मेयर साम्पाङलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । तर, श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले व्यस्तताको कारण देखाउँदै समय नदिएपछि भेटघाट हुन सकेन । यद्यपि, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने आफूहरू पनि वैकल्पिक शक्तिहरू मिल्नुपर्ने पक्षमा रहेको तर अध्यक्षको व्यस्तताले भेट हुन नसकेको हुन सक्ने बताए ।

राजनीतिक भेटघाटबाहेक मन्त्री घिसिङले विकास आयोजनाहरूको निरीक्षणमा पनि समय बिताए । कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गर्दै काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई मजदुर थपेर कामको गति बढाउन कडा निर्देशन दिए ।

धरान र बेलबारीको भेटघाटपछि उनले निर्माणाधीन राजमार्गको निरीक्षण गरे। ठेकेदारले माटो र गिटी-बालुवाको अभावले काम ढिलो भएको गुनासो गरेपछि मन्त्री घिसिङले आश्चर्य प्रकट गर्दै वन मन्त्रालयसँग सहजीकरण गरिदिने आश्वासन दिए ।

दमक र झिलझिलेमा निर्माणाधीन संरचनाहरूको निरीक्षणपछि मन्त्री घिसिङ सोमबार दिउँसो भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किएको नेता डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, १७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.