विराटनगर । १५ राजनीतिक दल र समूहको एकता पछि बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ले सोमबार विराटनगरमा आयोजना गरेको एकता सन्देशसभा उत्साहभन्दा बढी परम्परागत पट्यारलाग्दो भाषणमै सीमित भयो ।
देश दौडाहामा रहेको नेकपाको यो चौथो सभा थियो । यसअघि धनगढी, दाङ र पोखरामा सभा भएकाे थियाे । विराटनगर आइपुगेका नेताहरूले ‘जेनजी’ विद्रोहको कुरा त गरे, तर शैली भने उही पुरानै शीली रह्यो । एकताको सन्देश दिन भन्दै आयोजना गरिएको सभामा वक्ताहरूको लर्को यति लामो भयो कि, मुख्य नेता बोल्ने बेलासम्म आधाभन्दा बढी कार्यकर्ता घर फर्किसकेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण मानिएका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा उभिँदा कुर्सी खाली हुँदै थिए । दिउँसो १२ बजे तोकिएको कार्यक्रम सवा १ बजे सुरु भएर साँझ ५ बजेसम्म लम्बिएपछि टाढाबाट आएका कार्यकर्ताहरू धैर्य गर्न सकेनन् ।
कार्यकर्ताहरू धमाधम बाहिरिन थालेपछि प्रचण्डले आफ्नो सम्बोधन छोट्या ए । करिब २५ मिनेट बोलेका प्रचण्डले वर्तमान सरकार र जनमतको विषयमा धारणा राखे ।
प्रचण्डले आफ्नो सम्बोधनमा पुनः एकपटक ‘फौज’ को कुरा उठाए । जनयुद्धकालमा जनतालाई सैनिक तालिम दिने एजेण्डाबाट ब्याक भएको माओवादी नेतृत्वले अहिले ‘जेनजी आन्दोलन’ पछि फेरि यो मुद्दा ब्युँताएको छ । ‘हामीसँग ३ करोड नेपालीको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ,’ प्रचण्डले भने, ‘यदि ३ करोड नेपाली नै देशका लागि मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपाललाई हराउन सक्दैन। जरुरी परे नेपाली सेना र पुलिससँग मिलेर सम्पूर्ण जनता राष्ट्रका निम्ती लड्न तयार हुनुपर्छ।’
प्रचण्डले नयाँ पुस्तासँगको ग्याप (दुरी) कम गर्नुपर्नेमा जोड दिए । उनले कार्यकर्तालाई आफ्ना छोराछोरी र नातिनातिनासँग समय बिताउन र प्रविधि सिक्न आग्रह गरे ।
‘हामीले वास्तै गर्न छाडेका रहेछौं, उनीहरूको संसार अर्कै भइसकेछ,’ प्रचण्डले स्वीकारे, ‘हामीभन्दा उनीहरू धेरै सिपालु छन्। यो ग्यापले स्थिति गम्भीर बनाएको छ। अब छोराछोरी र नातिनातिनासँग सिक्न थालौं।’
प्रचण्डभन्दा ठीक अगाडि बोलेका पूर्वप्रधानमन्त्री तथा नेकपा सह–संयोजक माधवकुमार नेपालले मञ्चबाटै रित्तिएका कुर्सी देखेपछि व्यङ्ग्य गरे ।
‘भन्नुपर्ने धेरै कुराहरू साथीहरूले भनिसक्नुभयो, फेरि सुरु गरौं भन्दा सामुन्नेमा खाली कुर्सी देख्छु,’ नेपालले ठट्टा गर्दै भने, ‘सबै गइसकेपछि के गरौं भनेर प्रचण्डजीले कानमा खुसुक्क भन्दै हुनुहुन्थ्यो, बडो गाह्रो भयो।’ उनले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि एकता अपरिहार्य रहेको बताए ।
भाषणको पट्यारलाग्दो शृङ्खलाबीच गायक तथा नेता चिरण पुनको प्रस्तुतिले भने कार्यकर्तालाई केहीबेर जुरुक्क बनायो । उनले सम्बोधनपछि जनवादी गीत गाउँदा कार्यकर्ताले नेताको भाषणभन्दा बढी चासो दिएर सुने । पुनले खुद्रे पसल नचल्ने भन्दै सबै कम्युनिष्टलाई मूल नेतृत्वमा आउन आग्रह गरे ।
तत्कालीन माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले सञ्चालन गरेको सभामा हरिबोल गजुरेल, सरिता खड्का, विद्यार्थी नेताहरू रोहित यादव, पृतम साह, तथा नेताहरू रुपेश खतिवडा, प्रमोदनारायण यादव, गोपाल किराँती, राजेन्द्र श्रेष्ठ, नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल लगायतले सम्बोधन गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)