नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा नाकभित्र पलाएको मासुको शल्यक्रिया गर्दा ७ वर्षीय बालकको दाहिने आँखाको ज्योति गुमेको छ ।

इटहरी उपमहानगरपालिका–१ हासपोसाका जेनिश पाठकको आँखाको ज्योति गुमेको हो । बालकको आँखाको ज्योति गुमेपछि परिवारले अस्पताल र संलग्न चिकित्सकमाथि गम्भीर लापरवाहीको आरोप लगाउँदै कारबाहीको माग गरेका छन् ।

जेनिश पाठकलाई नाकको दाहिने प्वालमा मासु पलाएपछि मंसिर ४ गते नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार मंसिर ५ गते शल्यक्रिया गरियो । तर, शल्यक्रियाको भोलिपल्ट बालकको दाहिने आँखाको ज्योति गुमेको पाइएपछि नोबेल मेडिकल कलेजले हतारहतार डिस्चार्ज गरेको जेनिशका मामा श्रीकान्त प्रसाईंले बताए ।

डिस्चार्जपछि आफन्तले बालकलाई विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरे । विराटनगर आँखा अस्पतालका चिकित्सकले दाहिने आँखाको भित्री भाग ड्यामेज भएका कारण ज्योति फर्कने सम्भावना २ प्रतिशतभन्दा कम रहेको जानकारी दिए । चिकित्सकका अनुसार आँखाको भित्री भागको हड्डी निकालिएका कारण आँखामा गम्भीर चोट लागेको छ ।

जेनिशका मामा श्रीकान्तले नोबेल मेडिकल कलेजले बालकको स्वास्थ्यमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् । ‘हाम्रो बालकको स्वास्थ्यमाथि नोबेल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको छ, ७ वर्षको उमेरमा आँखाको ज्योति नै गुम्यो,’ श्रीकान्तले भने,‘हामीलाई डिपार्टमेन्ट हेडले शल्यक्रिया गर्ने भनिएको थियो, तर सिकारु डाक्टरलाई खटाएको रहेछ ।’

उनले लापरवाह अस्पताल र उपचारमा संलग्न डाक्टर प्रज्वल श्रेष्ठ तथा कविराज बास्तोलालाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बालकको आँखा गुमेको विषयलाई गम्भीर रुपमा लिएको बताए ।‘बालकको आँखा गुमेको विषयलाई गम्भीर रुपमा लिएका छौं, उजुरीपछि छानबिनका लागि प्रहरीमा पठाएका छौं,’ उनले भने, ूप्रहरीको रिपोर्टपछि मेडिकल काउन्सिलसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

उपचारको विषयमा बुझ्न खोज्दा अस्पताल प्रशासन सम्पर्कमा आउन चाहेन ।

उपचारमा संलग्न डाक्टर प्रज्वल श्रेष्ठले भने नाकको शल्यक्रिया गर्दा बालकको आँखामा समस्या भएको स्वीकार गरे तर लापरवाही नभएको दाबी गरे । ‘बालकको आँखाको साइटतिर पनि गएको थियो रोग, त्यहाँबाट पलाएको मासु निकाल्दा आँखाको साइटको बोन (हड्डी पनि निकाल्न पर्यो, त्यो निकाल्दा आँखाको भाग एक्सपोज भएर चोट लागेको हो,’ उनले भने ।

याे घटनाले स्वास्थ्य सेवाको गुणस्तर र चिकित्सकको जवाफदेहितामाथि प्रश्न उठेको छ ।  जसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आफन्तले माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, ०८ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.