सुन देखाउने बहानामा झापाका सराेज शर्माकाे हत्या, मामाभान्जा पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापा, शिवसत्ताक्षी नगरपालिका–१० का सरोज शर्माकाे  सुन खरिदबिक्रीको बहानामा हत्या भएकाे खुलेकाे छ । काठमाडौं बस्दै आएका शर्मालाई सस्तो सुन देखाउने बहानामा  अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडा सामुदायिक वनमा लगेर हत्या भएकाे हाे । घटनामा संलग्न दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

दसैँ मान्न घर आएका सरोज शर्मा सस्तो सुनको खोजीमा थिए । सोही टोलका साथी सुनिल साहलाई उनले सुन चाहिएको बताएका थिए।  शर्माले आफू थोरै सुन किन्ने र काठमाडौंमा थप ग्राहक रहेको जानकारी दिएका थिए । छठपछि काठमाडौं फर्किने तयारीमा रहेका शर्मासँग रहेको पैसा लुट्ने योजना  सुनिल र उनका नाताले भान्जा पर्ने छिमेकी २३ वर्षीय राहुल साहले बनाएका थिए । सुन देखाउने बाहानामा जंगल लगेर शर्मालाई बेहोस बनाई अपहरण गर्ने, पैसा लुट्ने र परिवारसँग फिरौती माग्ने याेजना बनाएका थिए । तर, हताैडाले प्रहार गरी शर्माकाे हत्या गरे ।

यस्ताे थियाे घटना

कात्तिक ९ गते बेलुका पूर्वयोजनाअनुसार शर्मालाई सुन देखाउन भन्दै दहीझोडा सामुदायिक वनमा लगियो । सुन राखिएको स्थान भन्दै जंगलमा माटो खोस्रिरहेकै बेला शर्माको टाउकोमा पछाडिबाट हतौडाले प्रहार गरियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, हतौडा प्रहारपछि शर्मा चिच्याएकाले आवाज बाहिर नजाओस् भनी पटकपटक टाउकोमा प्रहार गरी उनको हत्या  गरेकाे देखिन्छ ।

घटनास्थलमै शर्माको मृत्यु हुँदा साँझ परिसकेको थियो । आरोपीहरूले शर्माको शवलाई सेउलाले छोपेर उनी सवार गाडी जंगलमै छाडेर सुनिलको गाडीमा फर्किए । राति एक जना भारतीय नागरिकलाई लिएर फेरि घटनास्थल पुगे । डिएसपी खड्काका अनुसार, भारतीय नागरिकको सहयोगमा शर्माको शवलाई मृतककै गाडीमा राखेर हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका खण्डको बिरिङ खोलाको पुलमुनि लगेर गाडिएको थियो । त्यसपछि प्रमाण नष्ट गर्न शर्माको गाडीलाई जलाइएको थियो । गाडी जलाउने क्रममा सुनिलको दुवै हात आगोले जलेको प्रहरीले जनाएको छ ।

शर्मा कात्तिक ९ गते ‘कार धुनु छ’ भन्दै घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन भए । परिवारले भोलिपल्ट प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा गत बिहीबार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार जलेको अवस्थामा फेला परेको थियो । गाडी भेटिएको दुई दिनपछि शनिबार शर्माको शव फेला परेको हो ।

मुख्य योजनाकार सुनिल साहलाई भारततर्फ भाग्दै गर्दा विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट पक्राउ गरिएको हो । राहुल साहलाई भने घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेकाे हाे । शव व्यवस्थापनमा प्रयोग भएका भारतीय नागरिक भने फरार छन् । फरार रहेका व्यक्ति सुनिलका नातेदार हुन् ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकार सुनिल यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । करिब १० वर्षअघि एसएलसी परीक्षा चलिरहेका बेला उनी मोटरसाइकल चोरीको मुद्दामा पक्राउ परेका थिए । त्यसयता उनी लागुऔषध मुद्दामा पनि पक्राउ परेका थिए । झगडालु प्रवृत्तिका कारण टोलका बासिन्दा उनीसँग आजित भएको स्थानीयले बताएका छन् । घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीयले दुवै आरोपीको घर तोडफोड गरेका थिए ।

प्रकाशित मिति: आइतबार, १७ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.