संघीय सरकारका मन्त्री इलाम पुग्दा प्रदेश सरकारले थाहा पाएन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गत भदौ १८ गतेको भीषण बाढी र पहिरोका कारण क्षतविक्षत बनेको इलाम जिल्लाको वस्तुस्थिति बुझ्न भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङ शनिबार इलाम पुगे । उनको यस भ्रमणमा भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखसहितको टोली सहभागी थियो । तर, प्रदेश सरकारका प्रतिनिधि थिएनन् ।

कोशी प्रदेश सरकारका पदाधिकारीहरूले संघीय मन्त्रीको भ्रमणबारे औपचारिक जानकारीसमेत नपाएको गुनासो गरेका छन् । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री आएकाे विषयमा सामाजिक सञ्जालमा देखेपछि मात्रै थाहा पाएकाे बताए । ‘मन्त्रीज्यू आउनु भएको कुरा सामाजिक सञ्जालमा देखेपछि मात्रै थाहा भयो,’उनले भने औपचारिक जानकारी थिएन ।’

विगतमा संघीय मन्त्रीहरू आउँदा प्रदेशका मन्त्रीहरूको उपस्थिति अनिवार्य जस्तै हुने गरे पनि ‘जेनजी आन्दोलन’ पछि बनेको नयाँ सरकारका मन्त्रीहरूले प्रदेश तहसँग समन्वय गर्न बेवास्ता गरेको देखियो ।

इलाम जिल्लाकै बासिन्दा तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरसमेत मन्त्री घिसिङको भ्रमणमा अनुपस्थित रहे । उनले पनि संघीय मन्त्री आएकोबारे औपचारिक जानकारी नपाएको बताए। बाढी पहिरो प्रभावित क्षेत्रको राहत र उद्धारमा सक्रिय रहेका उनी यस भ्रमणमा सहभागी हुन नपाउँदा प्रदेश सरकारको प्रतिनिधित्व झनै कमजोर बनेको थियो ।

मन्त्री घिसिङले इलाम पुगेर बाढी प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरे । त्यसपछि उनले स्थानीय पालिका प्रमुखहरूसँग छलफल गरे। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, मन्त्री घिसिङसहितको टोलीले इलाम नगरपालिका–१० को माईटापु, इलाम नगरपालिका–९ को राजदुवाली सडकखण्ड, र मेची राजमार्गअन्तर्गत पुवाखोलास्थित मिलगोलाई क्षेत्रको निरीक्षण गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भई उनले जिल्लाका विपद् प्रभावित क्षेत्रहरूको विस्तृत जानकारी लिए ।

छलफलका क्रममा पालिका प्रमुखहरूले तत्कालका लागि राहत सामग्रीभन्दा पनि बाढी र पहिरोले भत्काएका सडक तथा अन्य भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न संघीय सरकारसँग जोडदार माग गरेका थिए।

‘पालिका प्रमुखज्यूहरूले तत्कालका लागि राहत सामग्रीभन्दा पनि भत्किएका सडक र भौतिक संरचना निर्माणका लागि आग्रह गर्नुभएको छ,’ प्रजिअ नेपालले भनिन्, ‘राहत लगभग पुगिसकेको र अब पुनर्स्थापनामा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।’ मन्त्री घिसिङले स्थानीय निकायका समस्याहरू ध्यानपूर्वक टिपोट गरी लगेका थिए। यद्यपि, उनले कार्यक्रम स्थलमा कुनै ठोस घोषणा गरेनन्, तर संघीय सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेकाले प्राथमिकताका साथ काम गर्ने आश्वासन दिएका थिए।

प्रकाशित मिति: आइतबार, २६ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.