दशगजाको सडकका कारण डुबानमा दरैया

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र दरैया, हरेक वर्ष वर्षा र बाढीका कारण डुबानमा पर्छ । विराटनगर महानगरपालिका– १६ दरैयाका श्यामकुमार पाण्डको घरमा आइतबार बाढी पस्यो । सोमबार दिउँसो पनि घर अगाडिको पानी निकास भएन ।

पाण्डेका अनुसार पहिले यस्तो डुबानको समस्या थिएन् । दशगजामा भारतले बाँधजस्तै सडक बनाएका कारण निकास नहुँदा वर्षा र बाढीको पानी दरैया बस्तीमा पस्यो। ‘यस्तो समस्या भएको १०–१२ वर्ष भयो, पहिले यस्तो डुबान थिएन,’ उनले भने,‘ भारतमा अग्लो सडक बनाए पनि डुबान हुन थाल्यो ।’

उनका अनुसार पहिले परेको पानी निकास भएर जान्थ्यो, अहिले निकास हुनलाई ३–४ दिन लाग्छ। ‘पहिले पुल थियो, त्यसलाई ब्लक गरेर त्यो ठाउँमा घर बनाएको छ, उताको बाटो हाम्रो भन्दा ३–४ फुट अग्लो बनायो, नाम मात्रैको बाटो, त्यो बाध हो,’ उनले भने,‘ पहिले एक दिनमै पानी निकास हुन्थ्यो, अहिले ३–४ दिन लाग्छ।’

केसलीया खोलामा आएको बाढी ओभरफ्लो भएर दरैया बस्तीमा पसेको थियो । बाढीका कारण विस्थापित भएका स्थानीय नन्दा ऋषिदेव, गुल महम्मद मिया र राजकुमारी पण्डितलगायत मिल्स माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

नन्दा ऋषिदेवका अनुसार भारततर्फको सडकले पानी निकास नहुँदा उनको घर डुबेको हो, र सडकमा बनेका कल्भर्टहरू पनि साना छन् । उनले दुई वर्षअघि पनि विस्थापित हुनुपरेको बताए।

गुल महम्मद मियाको यसअघिको बाढीले दुई वटा भैंसी र तीन वटा बाख्रा बगाएको थियो।

दरैया बस्तीका साथै विराटनगरका सीमावर्ती क्षेत्रहरू सधैं डुबानमा पर्छन् । भारतले निर्माण गरेको एकीकृत भन्सार जाँच परियोजना९आईसीपी०, यसलाई जोड्ने सडक र रेल्वे परियोजनाले दक्षिण पूर्वको पानीको निकास रोकेको छ ।

वर्षाका कारण विराटनगरका दक्षिणी वडाहरू १२, १३, १४, १५ र १६ नम्बर बढी प्रभावित भएका छन् ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाका अनुसार महानगरपालिकाले बजार क्षेत्रको डुबान समस्या समाधानका लागि काम गरिरहेको छ । उनले निकास नाला निर्माणका कारण विराटनगर– १५ मा यो वर्ष विगतको जस्तो डुबान नभएको बताए । विराटनगरको डुबान समस्या समाधानका लागि महानगर एक्लैले नसक्ने भन्दै उनले यसमा संघीय सरकारको पनि सहयोग चाहिने बताए ।

प्रकाशित मिति: सोमबार, २० असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.