दसैँकाे नवौँ दिन आज सिद्धिदात्री देवीको पूजा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् ।

सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा सैकटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन असोज ७ गते मंगलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

चौथो दिन असोज ९ गते बिहीबार र पाँचौँ दिन असोज १० गते शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएर दुवै दिनको सूर्योदयकालमा चौथी परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

यो वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते शनिबार नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजाआराधना गरियो । सातौँ दिन असोज १२ गते आइतबार छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । आठौँ दिन असोज १३ गते सोमबार सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजाआराधना गरियो । नवरात्रको नवौँ दिन असोज १४ गते मंष्गलबार आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको पूजाआराधना गरियो ।

नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको पनि विशेष पूजाआराधना गर्नुपर्ने समितिका सदस्य भट्टराईले बताए ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यो वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका निम्ति समितिले बिहान ११ः५३ बजेको साइत उत्तम रहेको जनाएको छ ।

दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दसैँको नवौँ दिन आज पनि शक्तिपीठमा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्छ ।

महानवमी नवरात्रको अन्तिम दिन भएकाले शक्तिपीठमा झन् धेरै भक्तजन पूजाआराधना र दर्शनका निम्ति पुग्ने गर्छन् । शक्तिपीठसहित घरघरमा पनि बलिसहित पूजाआराधना गरी नेपालीले आजको दिनलाई विशेष रूपमा मनाउँछन् ।

प्रकाशित मिति: बुधबार, १५ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.