विराटनगरका उद्योगीले समस्या सुनाए, अर्थमन्त्रीले सरकारकाे सीमा देखाए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले सरकारले चाहेरपनि दिर्घकालिन प्रभाव पार्ने गरी काम गर्न नसक्ने बताएका छन् ।

बुधबार विराटनगरमा निजी क्षेत्रसँगको छलफलका क्रममा निजी क्षेत्रले समस्या र सुझावको फेरिहस्त सुनाएका थिए । जवाफमा अर्थमन्त्री खनालले निजी क्षेत्रका लागि तत्कालका लागि राहतका लागि व्यावसायीक पुनरुत्थान योजना लागु गरेको बताए ।

मन्त्री भएपछि पहिलो पटक विराटनगर आएका खनाललाई मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेशलगायत संघ संस्थाले अर्थतन्त्र सुधारका लागि लिखित सुझाव पेश गरेका थिए । सुझावका क्रममा सीमा क्षेत्रमा कडाइ गरेमात्र नेपालको बजार फस्टाउने बताए । भन्सार नीतिमा पनि सुधार गर्न सुझाव दिए । निजी क्षेत्रको कुरा सुनेपछि अर्थमन्त्री खनालले निर्वाचनका लागि सरकार बनेका कारण दीर्घकालिन महत्व राख्ने गरी कानुन संशोधन गर्न नसक्ने बताए ।

‘दीर्घकालिन महत्वका कुराहरु म आफैले प्रतिवद्धता जनाएपनि परिवर्तन गर्न सकिदैन, भइरहेका कानुनलाई एक अक्षरपनि परिवतर्न गर्न सक्ने अध्यादेश ल्याएर उल्ट्याउन सकिने अवस्था छैन,’ उनले भने,‘ राष्ट्रपतिले ठूलो जोखिम लिएर मुलुकमा आउँदै गरेको राजनीतिक संकटलाई बैठानमा पुर्याएर गणतन्त्र र संविधानको रक्षा गरेको छु, यो रक्षाका निम्ती सबै दलको सहमति प्राप्त गरेको छु, दलहरु भड्किने गरी निर्वाचन सम्पर्न गर्न चाहिने कानुन संशोधन गर्ने अध्यादेश बाहेक अरु अध्यादेश नल्याउनु होला भन्नु भएको छ ।’

नयाँ सरकार गठन भएको पाँच दिनमा नै निजी क्षेत्रलाई सम्बोधन गर्नेगरी काम गरेको उनले बताए । निजी क्षेत्रले दिएको सुझावका आधारमा नै रिकभरी प्लान ल्याएको उनले बताए । ‘अर्थ मन्त्रालयमा स्वीकृत गरेको व्यापारिक पुनरुत्थान योजना लागू भएपछि तत्कालै राहतको महसुस हुनेछ,’ उनले भने ।

राज्यका निकायमा देखिएको पारदर्शिताको अभाव र भ्रष्टाचार ठूलो समस्याका रहेका कारण जेनजी आन्दोलन भएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको माग अनुसार सरकारले तत्काललाई सम्बोधन गर्ने योजना ल्याएको बताए । निजी क्षेत्रले पेश गरेको सुझावकै आधारमा सरकारले योजना ल्याएको बताउँदै उनले सरकारको प्याकेजले निजी क्षेत्रलाई केही राहत मिल्ने बताए । तर, निजी क्षेत्रले सुरक्षाको महसुस गर्न नसकेको उनको भनाई छ ।

‘सुरक्षाको जुन अनुभूति गराउन सकिएको छैन’, उनले भने,’सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।’

प्रकाशित मिति: बुधबार, ०८ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.