जेनजी आन्दाेलन : काेशीमा १० जनाकाे मृत्यु, पाँच जनाकाे भएन पहिचान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २३ र २४ गतेको झडप र आगजनीमा परेर मृत्यु भएकामध्ये ५ जनाको मात्रै पहिचान भएकाे छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार ५ जनाको पहिचान खुल्न बाँकी छ ।

झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो ।

सुनसरीको इटहरीमा २ जनाको मृत्यु भएको थियो । प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका उनीहरु इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का चंखे भनिने मोहन सरदार रहेको प्रहरीले जनाएको छ ।

झडपका क्रममा प्रदेशभर १ सय १४ जना प्रहरी घाइते भएको एसएसपी पोखरेलले बताए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र ५७ जनाको अवस्था मध्यम छ । अरु उपचारपछि डिस्चार्ज भएर ड्युटीमा फर्किसकेका छन् ।

आन्दोलनकारीतर्फ ४६ जना घाइते भएको बताइए पनि यो संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

धरानको भाटभटेनी सुपर मार्केटमा जलेर मृत्यु भएको अवस्था ४ जनाको शव फेला परेको थियो । भदौ २४ गते भाटभटेनीमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।

आगजनीका बेला लुटपाट एवं चोरी गर्न गएकाको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।   कसैले पनि आफन्त हराएको भनेर हालसम्म सम्पर्क नगरेको प्रहरीले जनाएको छ । भदौ २४ गते नै आगजनी गरेर लुटपाट मच्चाइएको विराटनगरको भाटभटेनीमा पनि सोमबार जलेको मानव कंकाल फेला परेको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा आगजनी गरेर प्रदेशभर क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३१ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.