विराटनगर । कोशी प्रदेशको नामका विषयमा असहमति जनाउँदै आएको नेकपा माओवादी केन्द्र ‘कोशी’लाई मानेर अघि बढ्ने भएको छ ।
बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक मतसहित कोशीलाई मानेर जानुपर्ने बताएका हुन् ।
यद्यपि यो विषयमा पार्टीले निर्णय गरेको छैन, प्रचण्डले प्रदेश समितिलाई लिखित प्रस्ताव पेश गर्न निर्देशन दिएका छन्, निर्णय भने केन्द्रीय समितिबाट हुनेछ ।
‘प्रदेशकै सन्दर्भमा जहिले आउँदा पनि नामको विषय कहिल्यै टुङ्गिने भएन । वास्तवमा केही न केही त्यतिबेला त्रुटी गरेकै हो,’ बैठकमा उनले भनेका थिए,‘ कम्तीमा रिजर्भेसन राखेर गएको भए हुन्थ्यो ।’
प्रदेश सचिवालय बैठक १ नम्बर प्रदेशको ब्यानरमुनि भएको थियो । सम्बोधनका क्रममा प्रचण्डले अब कोशीलाई मानेर जानुपर्ने बताए ।
प्रदेशका नेताहरुले नामको विषय प्रश्न उठाएपछि उनले भनेका थिए,‘यो नाममा हाम्रो सहमति छैन, अब बहुमत भएको हुनाले बहुमतको कुरालाई त हामीले यही संविधान अन्तर्गत कानुन आउने हुनाले मान्न बाध्य छौं ।’
संविधान घोषणा गर्दा पनि माओवादीले आफ्नो फरक मत राखेको बताउँदै उनले प्रदेशको नाममा त्यो अवसर गुमाएको बताए । अब प्रदेशको नामका विषयमा प्रदेशसभामा छुट्टै प्रस्ताव पेश गरे कोशीलाई मानेर अघि बढ्नुपर्ने प्रचण्डको भनाइ छ ।
‘संविधानमा हाम्रो पूरै सहमति छैन भन्ने कुरा पनि संविधान सभाको माइन्यूट लेख्यौं, अहिले हामीले ठूलो गर्वको साथ भन्न पाएका छौं,’ बैठकमा उनले भनेका थिए,‘ जसले यो संविधान संशोधन गर्नुपर्छ भन्ने नैतिक र राजनीतिक हैसियत र अधिकार प्राप्त छ भन्न पाएका छौं ।’ प्रदेशका भने त्यो हक छैन । २०७९ फागुन १७ गते माओवादी केन्द्रको पनि समर्थनमा प्रदेशको नाम कोशी राखिएको थियो ।
नाम राख्ने क्रममा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानका आधारमा नामकरण गर्नुपर्ने पक्षमा रहेको भएपनि संसदको गणित आफ्नो पक्षमा नहुँदा नामकरणमा बाधक नबन्ने बताएका थिए । २२ चैतमा २०७९ मा बसेको पार्टी पदाधिकारी बैठकले प्रदेशको नामाङ्कनमा गल्ती भएको निष्कर्षसहित पहिचानको पक्षमा उभिने निर्णय गरेको थियो ।
कोशीको पक्षमा मतदान गरेर फेरि कोशीको विरोधमा सडक संघर्ष गरेको भन्दै माओवादीको आलोचना पनि भयो । अझै आलोचना भोगिएका कारण प्रचण्डले अब कोशीलाई मानेर अघि बढ्नुपर्ने निष्कर्ष सुनाए ।
बिहीबारको बैठकमा अब कोशीलाई मानेर अघि बढ्ने र दुई तिहाइ बहुमत जुटाएर प्रदेशको नाम पहिचानको आधारमा राख्ने विषयमा छलफल भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
‘तत्काललाई कोशी मानेर जाने र दुई तिहाइ जुटाएपछि पहिचानको आधारमा नाम राख्ने कुरा भएको हो,’ उनले भने,‘ नामको विषयमा प्रदेशलाई लेखेर पठाउन अध्यक्षज्यू भन्नु भएको छ ।’
प्रचण्डले सम्बोधनका क्रममा बारम्बार नामको विषयमा प्रश्न आइरहेकाले बहुमतको आधारमा पास भएको नामलाई मान्नको बिकल्प नभएको बताएका थिए ।
‘दुई तिहाईले निर्णय भइसकेको हुनाले हामी त्यसलाई मानेर जान्छौं भनेर कोशी नामलाई ‘डी फ्याक्टो’(वास्तविक) रूपमा स्वीकार गरे पनि ‘डी जुरे’(न्यायिक) रूपमा मान्नु हुँदैन । अर्को उपाय छैन,’ उनले भनेका थिए,‘ हामी अर्को चुनाव पछि दुई तिहाई लिएर फेरौँला, तर अहिले सबै उत्पीडित समुदायको जे भावना छ त्यो अनुसारको नाममा पार्टीले औपचारिक निर्णय गरौं ।’
संसदीय दलको तर्फबाट संसदमा फरक मत दर्ज गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताएका थिए । ‘संसदीय दलबाट त्यसलाई प्रदेश सभामा हाम्रो मत यो हो भनि यो निर्णय( कोशी) चाहिँ हामीले मान्न बाध्य छौं भनौं,’ उनले भने,‘ जनतामा दिनप्रतिदिन कन्फ्युजन जस्तो परेको छ ।’
प्रदेशको दलले माग्यो नाम
पार्टी प्रदेश सचिवालय बैठकपछि बसेको प्रदेश संसदीय दलको बैठकले पार्टीसँग प्रदेशको नाम माग गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार शुक्रबार बसेको दलको बैठकले प्रदेशसभामा दर्ता गर्न सक्ने नाम माग गरेको हो । दलले नाम दिएपछि प्रदेशसभामा प्रस्ताव पेश गर्ने आङ्बोले बताए ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले प्रदेशले समितिले छलफल गरेर नाम प्रस्ताव गर्नेछ । उनका अनुसार नामका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने गरी प्रचण्डले प्रदेशबाट प्रस्ताव माग गरेका छन् ।
‘यो विषयमा (नामका विषयमा) तपाईंहरू सल्लाह गरेर सुझाव पठाइदिनुभयो भने हामी पार्टी केन्द्रबाट निर्णय गरेर अघि बढ्छौं,’ प्रचण्डले भनेका थिए,‘ सधैंको नामको झमेलाबाट पार्टीलाई मुक्त गर्ने उपयुक्त तरिका यो हुनसक्छ भन्ने मलाई लागेको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)