विराटनगर । कोशी प्रदेशसभाबाट पत्रकार र सञ्चार संस्थालाई दण्ड जरिवाना गर्ने प्रावधानसहित कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ पास गर्ने तयारी भएपछि पत्रकार महासंघले आन्दाेलन सुरु गरेकाे छ । संसदीय समितिमा भएकाे सहमतिका आधारमा दण्ड जरिवानाकाे प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि पत्रकार महासंघ र संसदीय पत्रकार मञ्चले आन्दाेलन सुरु गरेकाे हाे ।
२०८१ माघ १८ गते ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ विधेयमा दर्ता भएको थियो ।
प्रदेशसभामा छलफलका क्रममा १३ वटा संशोधन दर्ता भएपछि छलफलका लागि प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिमा पठाइएको थियो । मिनी संसदको रुपमा रहेको समितिले कारवाही र जरिवानाको थप प्रावधानहितको प्रतिवेदन शुक्रबारको प्रदेशसभा बैठकमा पेश गरेको छ ।
के के छन् प्रावधान ?
समितिले पारित प्रतिवेदनमा ऐन विपरित समाचार सामग्री प्रशारण गरे १ लाखसम्म, कालोसूचीमा राख्ने र प्रदेश सरकारले दिने सेवा सुविधा कटौती गर्ने प्रावधान राखिएको छ । क्षतिपूर्ती भराउन सक्ने प्रावधान पनि ऐनमा छ ।
१ लाखसम्म जरिवाना र कालोसूचीमा राख्ने क्षतिपूर्ती भराउने अधिकार भने प्रदेश सरकारले नियुक्त गरेको प्रेस रजिष्ट्रारलाई हुनेछ ।
सरकारले संसदमा विधेयक टेवल गर्दा मन्त्रीपरिषद्ले नियुक्त गर्ने रजिष्ट्रार कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने प्रावधान थियो । तर समितिले दफा ८ (घ)मा रहेको यो प्रावधान हटाएको छ । ऐन पास भए दलको सदस्यता लिएका कार्यकर्तालाई भर्तीको बाटो खुल्नेछ ।
संसदमा पेश भएको विधेयकको दफा २६ र २७ मा प्रशारणमा रोक लगाउने प्रवधान छ । विधेयकको दफा २६ को उपदफा (१) मा भनिएको छ ,‘नेपालको संविधानको धारा ५ र धारा १९ को मर्म र भावना विपरीत काम गरेमा प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी कुनै खास विषय, घटना वा क्षेत्रसँग सम्बन्धित कार्यक्रम प्रसारण संस्थाबाट प्रसारण गर्न नपाउने गरी रोक लगाउन सक्नेछ ।’ तर यसका लागि प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
दफा २७ मा भनिएको छ ,‘कुनै प्रसारक वा संस्थाले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्यक्रम प्रसारण गरेमा प्रदेश प्रेस रजिष्ट्रारले त्यस्तो प्रसारक वा संस्थालाई पहिलो पटक सचेत गराउन सक्नेछ ।’
सोही दफाको उपदफा २ मा सचेत गराउँदा समेत यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्यक्रम प्रसारण गरेमा प्रवेश प्रेस रजिष्ट्रारले त्यस्तो प्रसारक वा संस्थालाई तोकिए बमोजिमको जरिवाना गर्न सक्नेछ ।’ भन्ने प्रावधान थियो । तर, समितिले संसदमा पेश गरेको प्रतिवेदनमा १ लाखसम्म जरिवाना गर्ने, सञ्चार संस्थालाई कालोसूचीमा राख्ने र प्रदेश सरकारले दिने सेवा सुविधा बन्द गर्ने प्रावधान थप भएको छ ।
समितिले उपदफा ३ पनि थप गरेको छ ।थप गरिएको उपदफा (३) मा भनिएको छ,‘प्रचलित कानून यस ऐन वा यस ऐन अन्तरगत बनेको नियम विपरित कुनै कार्यक्रम प्रशारण गरेमा प्रतिष्ठानले त्यस्तो प्रशारक वा संस्थालाई कालो सूचीमा राख्ने वा प्रदेश सरकारकारले दिने विज्ञापन लगाएतका सेवा सुविधाबाट वञ्चित गर्ने वा तोकिए बमोजिमको जरिवाना गर्ने वा सबै सजाय गर्न सक्नेछ ।’
पत्रकार आचारसंहिता विपरित कार्य भए मार्का पर्ने पक्ष वा जो कोहीले प्रतिष्ठानमा उजुरी दिनसक्ने प्रावधान राखिएको छ ।
पत्रकार महासंघले मर्का पर्ने पक्षले मात्रै निवेदन दिनसक्ने प्रावधान राख्न माग गरेको थियो । तर समाचार सामग्रीमा चित्त नबुझे जो कोहीले उजुरी गर्न सक्नेछन् । उजुरी दिने पक्षले आर्थिक क्षति भएको दाबी पेश गरे प्रतिष्ठानले क्षतिपूर्ती भराउन सक्ने प्रावधान दफा ५७(२) मा राखिएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमका अनुसार प्रदेश सरकारले सञ्चार संस्था र पत्रकारको हात बाध्नेगरी कानुन बनाउने तयारी गरेको छ । अदालतका न्यायाधीशले गर्दै दण्ड जरिवानाको सजाय सरकारले नियुक्त गर्ने दलको कार्यकर्ताले गर्न सक्ने प्रावधान रहेको उनले बताए । ‘सञ्चार संस्था र पत्रकारको हात बाध्ने गरी ऐन ल्याएको छ, यो सरासर संविधानको भावना र मर्म विपरित हो,’ उनले भने,‘ संसदले यसलाई सच्याउनुपर्छ ।’
पत्रकार महासंघ र पत्रकारहरुका संघ संस्थाले जरिवानाको प्रावधान हटाउन माग राख्दै आएको थियो । तर समितिले भने कालोसूचीमा राख्ने र सुविधा कटौती गर्नेलगायत प्रावधान थप गरे गाैतमले बताए ।
‘कुनै विषयमा जोकोहीले निवेदन दिनसक्ने फौजदारी प्रकृतिको मुद्दामा मात्रै हुन्छ,’ उनले भने,‘ सरकारले नियुक्त गर्ने उक्त रजिष्ट्रारलाई न्यायाधीशको रुपमा जिम्मेवारी दिनु सरासर गलत छ ।’
नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले पूर्ण प्रेस स्वतन्त्रतालाई संकुचित गर्नेगरी पेश भएको विधेयकलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । उनले तत्काल विधेयकका प्रावधानलाई सच्याउन माग गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)