हुलाकी सडककाे कटहरी खण्ड : संघ र प्रदेशमा अनशनकाे धम्कीपछि काम सुरु गर्ने सहमति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ६ वर्षदेखि अलपत्र हुलाकी राजमार्गको मोरङको कटहरी रामचोकदेखि हाटखोलासम्मको ६ किलोमिटर सडकखण्ड निर्माणको काम ४ दिनभित्र सुरु हुने भएको छ ।

प्रदेश र संघीय संसदमा सांसदहरूले अनशनको चेतावनी दिएपछि निर्माण व्यवसायी (ठेकेदार) कम्पनी ४ दिनभित्र काम सुरु गर्न सहमत भएको हो ।

यदि सहमतिअनुसार काम अघि नबढेमा १५ दिनभित्र ठेक्का सम्झौता तोडिनेछ।

हुलाकी राजमार्ग योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार, निर्माण व्यवसायीले तत्काल आवश्यक जनशक्ति र उपकरणसहित काममा खटिने सहमति जनाएको छ।

सहमतिअनुसार तत्कालै २ वटा रोलर, २ वटा ग्रेडर र ७ देखि १० वटा टिपरसहित कामदार परिचालन हुनेछन्। यदि सहमति कार्यान्वयन नभएमा १५ दिनपछि ठेक्का सम्झौता नवीकरण नहुने पोखरेलले बताए।

यो सहमति सांसदहरूको दबाबपछि जुटेको हो । आइतबारको प्रदेशसभा बैठकमा सांसद भीम पराजुलीले सडक निर्माण तत्काल सुरु नभए प्रदेशसभा परिसरमा आमरण अनशन बस्ने घोषणा गरेका थिए । मंगलबार प्रतिनिधिसभा बैठकमा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले पनि सभामुखबाट रुलिङ नभए आफू अनशन बस्ने चेतावनी दिएका थिए।

उनले आफ्नो क्षेत्रको सडकमा धान रोपाइँ चलिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसअघि मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले संसदबाटै सडक निर्माणको माग गरेका थिए ।

सांसदहरूको घोषणापछि मंगलबार सडक विभागमा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, योगेन्द्र मण्डल र ठेकेदार प्रतिनिधिको उपस्थितिमा भएको बैठकले चारबुँदे सहमति गरेको हो ।

सहमतिमा निर्माण व्यवसायीले ४ दिनभित्र आवश्यक जनशक्ति र उपकरणसहित काम सुरु गर्ने, १५ दिनभित्रमा बाटोलाई दुईतर्फी सञ्चालन सहज हुने गरी निर्माण गर्ने, एक महिनाको कार्यतालिका ३ दिनभित्र पेस गर्ने र सोहीअनुसार काम भए–नभएको निरन्तर अनुगमन गर्ने उल्लेख छ । यदि १५ दिनभित्र उल्लेखित काम सम्पन्न नभए ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएको छ ।

निर्माणमा ढिलासुस्ती र उल्झन

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने हुलाकी राजमार्गको मोरङ खण्ड ४४ किलोमिटर लामो छ । जसमध्ये कटहरीको उक्त ६ किलोमिटर खण्डको काम ६ वर्षदेखि अत्यन्त सुस्त गतिमा छ । २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी, हेटौंडाले ७७ करोड रुपैयाँमा ठेक्का लिएको यो आयोजनाको आर्थिक र भौतिक प्रगति हालसम्म २३ प्रतिशत मात्रै छ ।

आयोजनाको थपिएको म्याद गत जेठ ३० गते नै सकिएको छ । निर्माण कम्पनीले थप २ वर्षको समय माग गरे पनि आयोजना कार्यालयले १ वर्ष थप गर्न सिफारिस गरेको थियो। तर, सम्झौता नवीकरण भइसकेको छैन ।

यस खण्डमा मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सन भए पनि काममा अर्कै समूह देखिएको छ। सुरुमा भूपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेका थिए भने पछिल्लो ६ महिनादेखि अभिषेक गिरीले यो जिम्मेवारी सम्हालेका छन् ।

गिरीका अनुसार, बिजुलीको पोल र खानेपानीको पाइप व्यवस्थापनका लागि बजेट अभाव हुँदा काम अघि बढाउन कठिनाइ भएको छ।

आयोजना कार्यालयका अनुसार, पोल र खानेपानी पाइप व्यवस्थापनका लागि ६ करोड लागत अनुमान गरिए पनि आयोजनाले २ करोड मात्रै छुट्याएको छ, जसले गर्दा काममा थप ढिलाइ हुने निश्चित छ । बजेट व्यवस्थापनका लागि अन्य विकल्पमा छलफल भइरहेको आयोजना प्रमुख पोखरेलले बताए ।

प्रकाशित मिति: मङ्गलबार, २८ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.