ओलीले देशलाई पीडा दिए, अख्तियारको मुद्दा प्रतिशोध हो : माधवकुमार नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पुरै पीडित छ,’ उनले भने,‘यो पीडाबाट जबसम्म केपी ओलीलाई बिदा गरिदैन, मुक्त हुने स्थिति बन्दैन ।’

केपी ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन नहुने उनको भनाइ छ ।

केपी ओलीका कारण एमालेमा पनि तमासा देखिएको उनले बताए । ‘एमाले भित्र तमाशा हेर्दै जानुस्, देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन् केपी ओलीले,’ उनले भने,‘ राष्ट्रकै निम्ति ठूलो नोक्सान पुर्याउने स्थितिमा पुर्याउँछन् ।’

एक पैसा खाएको छैन, मुद्दा प्रतिशोध हो

उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दालाई राजनीतिक प्रतिशोध मात्रै भएको बताए । आफूविरुद्धको मुद्दा कुनै भ्रष्टाचारसँग सम्बन्धित नभएको उनकाे दाबी छ ।

‘मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने,‘यो त राजनीतिक पूर्वाग्रह हो, त्यो प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’

अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)सँग तत्काल पार्टी एकताका लागि कुनै छलफल नभएको बताए । माओवादी केन्द्रसँग सहकार्यको मात्रै कुरा भइरहेको बताए ।

‘अहिले एकीकरणको कुरा भएकै छैन,’ उनले भने,‘अहिले सहकार्यको कुरा भएको छ । समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको छ।’

प्रकाशित मिति: शुक्रबार, १७ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.