राजनीति छाडेका पारुलले हुर्काउँदैछन् विरुवा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पारुल क्षेत्री मोरङको राजनीतिमा परिचित नाम हो । नेकपा एमाले जिल्ला सचिवालय सदस्यसमेत उनी २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६(ख)बाट उम्मेदवार सिफारिस भए । १ नम्बरमा सिफारिस भएपनि मनाङमा दीपक मनाङेलाई दिएकाे टिकटको विरोध गर्दा उनले आफ्नो टिकट गुमाए । एमाले विभाजन हुँदा नेकपा एकिकृत समाजवादी  पार्टी रोजे । तर,राजनीतिलाई किनारामा राखेर उनी पछिल्लाे डेढ वर्षयता हरित विराटनगर अभियानमा लागेका छन्  ।

उनले पहिरन पनि फेरेका छन् । साधुसन्तले लगाउने गेरु बस्त्र लगाएर उनी हरेक दिन विराटनगरका सडकमा भेटिन्छन् । माछामासु खान छाडेका क्षेत्री आत्मसन्तुष्टिका लागि गेरु वस्त्र लगाएको बताउँछन् । उनले सुरु गरेको वृक्षरोपण अभियानमा विराटनगर १५० जना जति जोडिएका छन् । हरेक दिन विरुवा गोडमेलमा भने ८–१० जना पालो गरेर खटिन्छन् ।

अहिले उनको परिचय राजनीतिकर्मीभन्दा पनि ‘हरियाली अभियन्ता’का रूपमा स्थापित भएको छ । उनले राजनीति पनि छोडेका छन् ।

क्षेत्री र उनको समूहले वृक्षरोपणलाई अभियान बनाएको डेढ वर्ष कट्यो । त्यसअघि उनले सरसफाइ अभियान चलाएका थिए । विराटनगरको सत्यनारायण स्कुलको पछाडि फोहोर फाल्ने क्रम नरोकिएपछि क्षेत्रीको समूह तीन महिनासम्म जाग्राम बसेको थियो । अहिले त्यो स्थान सफा छ ।

डेढ वर्षको अवधिमा उनी र उनको अभियानका सदस्यले ८ हजार बढी विरुवा रोपेका छन् । ति मध्ये अधिकांश हुर्किएका छन् । खण्डर देखिएका सडक किनार हरियाली देखिन थालेकाे छ । फलफूलका विरुवाले केही स्थानमा फल दिन थालेका छन् । यी विरुवा चराको बच्चा हुर्काउने थलो पनि भएको छ । ‘हिजो सफा गर्दै जाँदा एउटा विरुवामा जुरेलीको गुड भेटियो,’ क्षेत्री भन्छन्,‘ हामीले लगाएको विरुवा बच्चा हुर्किएको देख्दा साह्रै खुसी लाग्यो ।’

विराटनगरको राजनीतिक वृत्तमा परिचित र राम्रो छवि बनाएका क्षेत्री राजनीतिक जुलुस र सभा छाडेर विरुवा हुर्काउने अभियानमा लाग्ने कारण  बालबालिका र वृद्धवृद्धा हुन् ।  ‘सडक पेटीमा स्कुले बालबालिका र बुढाबुढी मान्छे घाममा उभिएको देख्दा विरुवा रोप्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनी भन्छन्,‘ पहिले देखि नै विरुवा चाहिँ रोपिरहेको थिए, तर साथीहरुसँग सल्लाह गरेर अभियान चलाएको डेढ वर्ष भयो ।’

‘हरियाली अभियान’को परिणाम पनि देखिन थालेको छ । ‘विराटनगरमा एउटा श्रमदानको संस्कृति विकास गर्ने पनि हाम्रो प्रयास हो,’ क्षेत्री भन्छन्,‘हामीले लगाएको ८ हजारभन्दा बढी भइसक्यो, अझै राेप्दैछाैं, हाम्रो लक्ष्य लगाएको जति सबै बिरुवा हुर्काउनु पर्छ भन्ने हो । कुनै मर्यो भने त्यसलाई तुरुन्तै अर्कोले प्रतिस्थापन गर्छौं।’

प्रकृतिप्रेमी क्षेत्री त्यसअघि पनि विरुवा रोप्ने र हुर्काउने अभियानमा थिए । छोटो अवधिमै विराटनगरका सडक किनारमा हुर्कंदै गरेका बिरुवाले अभियान्तालाई उत्साहित बनाइरहेको उनले बताए ।

विराटनगरको उत्तरी ढाटदेखि भारतीय सीमा क्षेत्र रानीसम्मको करिब ८ किलोमिटर क्षेत्रमा विरुवा रोपेका छन् ।

विरुवा हुर्काउन हरेकदिन क्षेत्रीको अभियान खटिन्छ । विरुवा संरक्षणका लागि विरुवा रोपिएको क्षेत्रका स्थानीयलाई सहभागी गराइरहेका छन् । उनीहरुको यो अभियान अभियान्ताहरुको सहयोगमा अघि बढेको छ ।

अभियानमा जोडिएकाहरुले विरुवा खरिद गरेर ल्याउँछन् । पारुल क्षेत्रीको टिमले  रोप्छन् र सुरक्षित राख्न घेराबेरा गर्छन् ।  “हाम्रो अभियानमा दिनहुँ हुन्छ, जाडोमा साँझ ४ बजेपछि र गर्मीमा ५ बजेपछि हामी काममा निस्कन्छौं, किनभने त्यो बेला बिरुवालाई राम्रो हुन्छ ।’उनले भने ।

यो अभियान केवल बिरुवा रोप्नमा मात्र सीमित छैन, यसले एउटा संस्कारको विकास गरिरहेको छ । जन्मदिन विवाह वर्षगाठ लगायत अवसरमा बिरुवा रोपेर उत्सव मनाउने चलन बढेको छ । अभियानका सदस्यहरु कसैको मृत्युमा श्रद्धान्जली दिन जाँदा विरुवा लिएर पुग्छन् र मृतकको नाममा लगाउँछन् । ‘यसरी रोपेको विरुवामा परिवारको भावना जोडिन्छ र संरक्षण पनि हुन्छ ।’ क्षेत्रीले भने ।

पूर्व क्षेत्रमा मृत्यु शोक र जन्मदिनमा वृक्षरोपण गर्ने अभियानको सुरुवात भने जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको थियो । जीवन विकासले आफ्ना सदस्यको परिवारमा जन्मदिन र मृत्यु शोकमा दुई वटा फलफूलको विरुवा रोप्दै आएको छ । यसरी राेपिएका विरुवा संरक्षण पनि भएकाे संस्थाकाे दाबी छ ।

क्षेत्रीका अनुसार वृक्षरोपण अभियानको सबै पक्ष सकारात्मक मात्रै छैनन । बाटोमा रोपेको विरुवा भाँचिदिन्छन् । भाँचिएको विरुवा देख्दा उनको मन रुन्छ । ‘जहाँ बिरुवा मरेको वा उखेलिएको छ, हामी त्यहाँ फेरि अर्को बिरुवा रोप्छौं,’ क्षेत्रीले भने,‘ विरुवा हुर्काउन सबैको सहयोग चाहिन्छ ।’

अभियानको मुख्य चुनौती फराकिलो क्षेत्रमा रहेका बिरुवालाई पानी पुर्याउनु हो । वर्खामा त समस्या छैन तर हिउँदा गाह्रो हुन्छ । पछिल्लो समय अभियानले एउटा विद्युतीय डेलिभरी भ्यान किनेको छ । यो भ्यान मार्फत विरुवा रोप्न र पानी हाल्न सजिलो भएको छ । क्षेत्रीका अनुसार यो स्वतस्फुर्त रुपमा चन्दा उठाएर भ्यान खरिद गरिएको हो । भ्यान क्षेत्रीले नै चलाउँछन् ।

‘हाम्रो चाहिँ लक्ष्य भनेको यति संख्या भनेर निर्धारण गर्या छैन, तर विराटनगरका कुना काप्चा जुन–जुन ठाउँमा बिरुवा रोप्न सकिन्छ, उपयुक्त ठाउँ हो, ती सबै ठाउँमा रोप्ने भन्ने छ,’ उनले भने,‘ एउटा बिरुवालाई हुर्किन दिनलाई ३ वर्ष चाहिँ स्याहार्नुपर्छ भन्छन्, तर हामीले दुई वर्ष पनि चाहिँ हेरियो भनेदेखि बिरुवा एकदम राम्रो भइहाल्दो रहेछ ।’

उनका अनुसार  विरुवा संरक्षणका लागि स्थानीय घरधनी र पसलेहरूको सहयोग अनिवार्य हुन्छ । जसले सहयोग गरेका छन्, त्यहाँ बिरुवाहरू निकै राम्रोसँग हुर्किएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.