विराटनगर । सुनसरीका धरान र इटहरी उपमहानगरपालिका बजेट बिहीन अवस्थामा पुगेका छन् । आन्तरिक किचलोका कारण धरान उपमहानगरपालिकाले बजेट प्रस्तुत गर्न सकेन् । इटहरी उपमहानगरपालिकाले बजेट प्रस्तुत गरे पनि पास गर्न सकेन ।
संविधानत असार १० गते भित्र बजेट ल्याएर असार मसान्तसम्म बजेट पास गर्नुपर्छ । साउन १ गतेबाट बजेट कार्यान्वयन हुन्छ । तर बजेट ल्याउन नसकेका कारण धरान र पास गर्न नसकेका कारण इटहरी बजेट शून्यतामा गएको हो ।
इटहरी उपमहानगरपालिकाले गत असार १० गते २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । तर आर्थिक विधेयक र विनियोजन बिधेयकको अनुसूची सार्वजनिक नगरेपछि नेकपा एमालेका जनप्रतिनिधिले आपत्ती जनाए । बहुमत जनप्रतिनिधिले आपत्ति जनाएपछि प्रमुख हेमकर्ण पाैडेलले नगरसभा अनिश्चितकालका लागि स्थगित गरे ।
इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता कुमारी चौधरीका अनुसार अर्थ बिधेयक र विनियोजन बिधेयकको अनुसूची सार्वजनिक नगरेका कारण नगरमा विवाद छ । नगरसभा सदस्यले अनुसूची माग गर्दै बैठकमा सहभागिता नजनाएको उनले बताइन् । इटहरीमा नेकपा एमालेको बहुमत छ ।
धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको विवादका कारण बजेट नआएको हो । बजेट ल्याउन नसकेको धरानले बजेट ल्याउने तयारी गरिरहेको प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद चौलागाई बताउँछन् । उनका अनुसार अहिले पालिकाको खर्च शून्य छ । आम्दानीका लागि भने गत आर्थिक वर्षकै दररेटमा राजस्व संकलन हुनेछ । ‘अहिले खर्च गर्ने अवस्था छैन, १०–१५ दिनमा बजेट पास गर्न सकिन्छ कि भनेर लागिरहेका छौं,’ उनले भने,‘ राजस्व संकलनका लागि पुरानै दररेट कायम गरिएको छ ।’
धरान उपमहानगरपालिका उपप्रमुख बेघा पनि बजेट ल्याउने प्रयास भइरहेको बताउँछन् । ‘हामी बजेट निर्माणको तयारीमा छौं, केही दिन भित्र निर्माण हुन्छ,’ उनले भने,‘ कति दिनमा आउँछ भन्ने प्रमुखज्यूको भूमिकामा निर्भर हुन्छ ।’
धरानको किचलो नयाँ भने होइन्, गत आर्थिक वर्ष पनि ढिलो गरी बजेट आएको थियो । गत वर्ष पनि ६ साउनमा मात्रै बजेट पारित गरेको थियो ।
श्रमदानमा मार्फत भएको काममा भुक्तानी मागेपछि विवाद बढेका कारण बजेट प्रभावित भएको हो ।२ र ३ असारमा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख पक्षबीच झडप नै भएको थियो ।
इटहरीका मेयर बिदामा
आम्दानी र खर्चको अनुसूची विना सार्वजनिक भएको बजेट पारित गर्नका लागि बुधबार इटहरी उपमहानगरपालिकाको नगरसभा बसेको थियो । तर उपप्रमुख चौधरीसहित बहुमत सदस्यले अनुसूची बिना बजेट पास गर्न नमानेपछि नगरप्रमुख बुधबारको नगरसभा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेर बिदामा बसेका छन् ।
बजेट पास गर्न नसकेपछि उनी शुक्रबारबाट बिदामा बसेका हुन् । उनले उपप्रमुख चौधरीलाई कार्यबहाकको जिम्मेवारी दिएका छन् । कार्यबाहक अवधिको समय खुलाइएको छैन ।
‘मेयरसाब मलाई कार्यबाहक दिएर जानु भएको छ, अब उहाँ आएपछि मात्रै बजेट पारित हुन्छ,’ उपप्रमुख चौधरीले भनिन्,‘ आज कार्यबाहक दिनु भएको छ, तर त्यसमा समय तोकिएको छैन ।’
आफू अनुकुल बजेट पास गर्न नसकेपछि मेयर पौडेलले एमालेका जनप्रतिनिधिलाई दबाबमा राख्नका लागि उपप्रमुखलाई कार्यबाहक दिएर बिदा बसेका हुन् । बिदा अवधि नतोकेका उनी ४–५ दिन पारिवारिक कामले बाहिर रहने उनको सचिवालयले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)