कोशीलाई प्रथम सेवा बिन्दु पनि बनाउन स्वास्थ्यमन्त्रीलाई पत्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । स्वास्थ्य बीमा बोर्डले काेशी अस्पताललाई रेफरल सेन्टर मात्रै तोकेपछि अस्पताल प्रशासनले प्रमथ सेवा बिन्दु पनि बनाउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई पत्र लेखेकाे छ । रेफरल सेन्टर बनाउँदा विरामीकाे चाप घट्ने भन्दै अस्पताल प्रशासनले पत्र लेखेकाे हाे ।

१ साउनबाट लागु हुनेगरी स्वास्थ्य बीमा बोर्डले कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएर रेफरल सेन्टर मात्र तोकेको छ । यसअघि प्रथम सेवा बिन्दु र रेफरल सेन्टर दुवै अधिकार कोशीलाई थियो ।

कोशी अस्पतालमा दैनिक ८०० देखि १ हजार हाराहारी बिरामी आउँछन् । तीमध्ये ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका छन् । बीमामार्फत उपचारका लागि आउने बिरामीमध्ये आधाभन्दा बढी प्रथम सेवा बिन्दुको रूपमा कोशीमा आउँछन् । स्वास्थ्य बीमा बोर्डको पछिल्लो निर्णयले अस्पताललाई असर गर्ने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताइन् ।

उनले अस्पतालको सम्भावित जोखिम टार्नका लागि कोशी अस्पताललाई प्रथम सेवा बिन्दु र रेफरल सेन्टर दुवै तोक्न माग गर्दै स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई पत्र पठाएकी हुन् ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर झाले २७ असारमा पठाएको पत्रमा अस्पताललाई रेफरल सेन्टर मात्रै तोके बिरामीको चाप दुई तिहाइले घट्ने उल्लेख छ । बिरामीको चाप घट्दा अस्पतालको आम्दानी घट्नेछ । जसले गर्दा अस्पतालले आन्तरिक स्रोतमार्फत खटाएका चिकित्सक र कर्मचारीलाई तलब खुवाउन समस्या पर्नेछ ।

‘रेफरल सेन्टर सरकारी अस्पताल मात्रै तोकिएको भए समस्या हुने थिएन,’ उनले भनिन्, ‘वीर अस्पताल र टिचिङ अस्पताल जस्तो कोशी अस्पताल छैन, कतिपय केसमा कोशी अस्पताल आफैंले पनि रेफर गर्नुपर्ने अवस्था छ ।’

रेफरल सेन्टरको रूपमा विराटनगरका अन्य निजी अस्पतालसँग प्रतिस्पर्धा गर्न कोशीलाई कठिन हुने उनको भनाइ छ ।

‘स्वास्थ्य बीमा बोर्डको हालै प्रकाशित सूचीअनुसार विराटनगर महानगरपालिका भित्र रानी प्राथमिक स्वास्थ्य केन्द्र मात्र प्रथम सेवा केन्द्र तोकिएको र उक्त स्वास्थ्य केन्द्रले मात्र बिरामीको चाप थेग्न नसक्ने अवस्था छ,’ अस्पतालले पठाएको पत्रमा भनिएको छ, ‘कोशी अस्पतालमा दुई तिहाइ बिरामी बीमातर्फको आउने गरेकोमा प्रथम सेवा विन्दु नहुँदा अस्पतालमा बिरामीको संख्यामा उल्लेख्य कमी आउँछ ।’

रेफरल सेन्टर मात्रै तोकिँदा प्रथम सेवा विन्दुबाट आउने बिरामी निजी अस्पतालमा जान चाहन्छन् । जसले गर्दा कोशी अस्पतालमा बिरामीको चाप घट्छ ।

‘बीमा नभएका बिरामीहरू धेरैजसो विपन्न हुने गरेकाले त्यस्ता बिरामीहरू कोशीमा नि:शुल्क उपचार गराउन खोज्ने हुँदा अस्पतालको आय आम्दानीमा पनि व्यापक ह्रास आउने छ । अस्पतालको आन्तरिक श्रोतबाट तलब भत्ता लिनेगरी ठुलो संख्यामा कर्मचारीहरू कार्यरत रहेकोले प्रथम सेवा केन्द्र नहुँदा आन्तरिक आम्दानीमा ह्रास भई खर्च व्यवस्थापनमा कठिनाइ हुन्छ,’ स्वास्थ्य मन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ,’ मोरङ र आसपासका जिल्लाहरूमा तोकिएको प्रथम सेवा केन्द्रबाट विभिन्न कारणले कोशी अस्पतालमा उपलब्ध भएका सेवा समेत विराटनगरको निजी अस्पतालमा रेफर हुने सम्भावना बढी भएकोले रेफरल पनि सरकारी अस्पतालमा कम हुने सम्भावना छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई अनिवार्य बीमा गर्नुपर्ने गरी परिपत्र गरेका कारण कोशी अस्पतालमै आवद्ध कर्मचारीसमेत बिरामी भए प्राथमिक सेवा केन्द्र हुँदै आउनु पर्ने अवस्था रहेको उनले बताइन् ।

विराटनगर महानगरपालिकासहित आसपासका पालिकाका नागरिकले कोशी अस्पताललाई प्रथम सेवा विन्दु राख्ने गरेका छन् । कोशी अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि प्रथम सेवा विन्दु तथा रेफरल केन्द्र दुवै तोक्नुपर्ने उनको माग छ ।

कोशी अस्पताललाई स्वास्थ्य बीमा बोर्डले २७ करोड बढी भुक्तानी दिन बाँकी छ । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर झाका अनुसार यो रकम पछिल्लो एक वर्षको हो ।

निजी अस्पताललाई पोस्ने काम भयो

स्वास्थ्य बीमा बोर्डले विराटनगरको कोशी अस्पताललाई रेफरल सेन्टर मात्रै तोकेपछि प्रतिनिधिसभाको बैठकमा मोरङ-४ का सांसद अमनलाल मोदीले असन्तुष्टि जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै निजी अस्पताललाई पोस्ने गरी प्रथम सेवा बिन्दुबाट कोशी अस्पताललाई हटाएको बताए ।

‘धेरै पालिकाहरूसँग त्यो स्तरको अस्पताल छैन, यो निर्णयले कोशी अस्पतालले मात्र दैनिक एक हजार बिरामी गुमाउनुपर्ने अवस्था आउनेछ,’ उनले भने ।

पालिका स्तरको अस्पतालबाट रेफर लिएर निजी अस्पतालमा जाने बढी हुने बताउँदै उनले सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्‍याउने काम नगर्न आग्रह गरे । सांसद मोदीले यो निर्णय स्वास्थ्य क्षेत्रका बिचौलियाहरूको प्रभावमा आएको आरोप समेत लगाए ।

प्रकाशित मिति: सोमबार, ३० असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.