कुटपिटदेखि क्युआर कोड विवादमा कोशीका मन्त्री , मुख्यमन्त्री माैन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आफ्नो मन्त्रीपरिषद्का सदस्य विवादमा तानिदा मौन बसेका छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसबाट मन्त्री भएका २ जना मन्त्री विवादमा मुछिदा मुख्यमन्त्री कार्की मौन बसेका हुन् । प्रदेशका मन्त्रीहरुले मनोमानी गरिरहँदा पनि मुख्यमन्त्री मौन बसिरहनुले सरकारभित्रको नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठिरहेको हो ।

प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम असारको पहिलो साता गृहजिल्ला ताप्लेजुङ पुगेका थिए । त्यहाँ उनले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई मुक्का प्रहार गरे ।

थेवेले आगामी चुनावमा आफूलाई टक्कर दिने तयारी गरेको भन्दै उनले हातपात गरेको प्रत्यक्षदर्शी बताउँछन् । घटना सार्वजनिक भएपछि मन्त्री हाङगामले आत्मरक्षाको लागि मात्रै मुक्का हानेको दाबी गरेका थिए ।

कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल क्यूआर कोड विवादमा मुछिए । सचिवालयका कर्मचारी मार्फत कार्यालय प्रमुखलाई बैंक खाताको क्युआर कोड घुस मागेको आरोप उनीमाथि लाग्यो । कर्मचारीको सरुवामा क्युआर कोड पठाएर पैसा मागेको विवाद आउँदा पनि मुख्यमन्त्री कार्की चुपचाप रहे ।

सत्ता साझेदार दल नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्री विवादित हुँदा मुख्यमन्त्री कार्कीले सार्वजनिक रुपमा प्रतिक्रिया जनाउन सकेका छैनन् ।

मुख्यमन्त्री कार्कीको मौनतालाई कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको निरिहता भएको दाबी गर्छ । ‘मुख्यमन्त्रीको नियन्त्रणमा मन्त्रिपरिषद्का सदस्य छैनन्, मन्त्रीहरु विवादमा आउँदा उहाँ निरिह हुनुहुन्छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भन्छन्, ‘उहाँ इतिहासकै कमजोर मुख्यमन्त्री हो, निरिह हुनुहुन्छ ।’

बजेट निर्माण प्रक्रियादेखि नै मुख्यमन्त्रीको निरिहता प्रष्ट देखिएको उनको तर्क छ । सरकारलाई जवाफदेही बनाउनका लागि प्रतिपक्षी दलले संसदमा विवादित मन्त्रीका बारेका सरकारको आधिकारिक धारणा र मन्त्रीको राजीनामा मागेको उनले बताए ।

‘नीति तथा कार्यक्रमको प्रथमिकता एकातिर बजेट अर्कोतिर गयो, बजेट हेर्दा मुख्यमन्त्री र अर्थ मन्त्री निरिह जस्तो देखिन्छ,’ उनले भने, ‘सरकारमा हेर्दा कोही मन्त्री मुख्यमन्त्रीको नियन्त्रणमा छैन, मुख्यमन्त्री निरिह भएर बस्नु भएको छ ।’

आफ्नो दल र सत्ता साझेदार दलका मन्त्रीसँग निरिह रहेका मुख्यमन्त्री कार्कीले सत्ता टिकाउने बाहेक काम गर्न नसकेको उनको आरोप छ । ‘सरकार चलाउने र आफ्नो पद जोगाउने बाहेक प्रदेशको चासो र चिन्ता उहाँलाई छैन,’ आङ्बोले भने, ‘प्रदेश भगवान भरोसा चलेको छ, सरकारको लगाम मुख्यमन्त्रीको हातमा छैन ।’

सरकार गठन भए पनि अहिलेसम्म लय पनि समाउन नसकेको बताउँदै उनले मुख्यमन्त्री पद जोगाउन निरिह भएर बस्दा मन्त्रीले मनोमानी गरिरहेको बताए ।

कांग्रेसको चासो

सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ मन्त्री विवादमा तानिएपछि दलले चासो देखाएको बताउँछन् ।

क्युआरकोड विवाद बाहिर आएपछि मन्त्रीलाई सत्यतथ्य सार्वजनिक गर्न दलले भनेको उनले बताए । उनका अनुसार क्युआर कोड विवाद ६–७ महिना पुरानो हो । ‘संसदमा कुरा उठिसकेपछि दलको तर्फबाट मन्त्रीलाई बोलाएर कुरा के हो क्लियर गर्न भनेका छौं, ‘उनले भने, ‘उहाँले संसदमा कुरा राख्नुहुन्छ ।’

पर्यटन, वन तथा वातावरणमन्त्री मण्डलको सचिवालयले भने आरोप भ्रामक र तथ्यहीन भएको दाबी गरेको छ । सचिवालयले ‘क्यूआर कोड’ सम्बन्धी आराेप भ्रामक, अतिरञ्जित भएको दाबी गरेको हो ।

मुख्यमन्त्री कार्कीको सम्बन्ध कृषि मन्त्री हाङगामसँग बजेट निर्माण भन्दा अघिदेखि नै बिग्रिएको थियो । क्युआर विवादमा जोडिएका मन्त्री मण्डलसँग पनि उनको सम्बन्ध राम्रो छैन । मन्त्री मण्डलले सरुवा गर्न भनेका कार्यालय प्रमुखको सरुवाका लागि मुख्यमन्त्री कार्यालयले सहमति नदिएपछि उनी मुख्यमन्त्रीसँग रिसाएको स्रोत बताउँछ ।

‘मुख्यमन्त्रीलाई असहज भएको छ, तर सत्ता साझेदार दलका मन्त्री भएका कारण केही गर्न सक्नु भएको छैन,’ उनी निकट स्रोत भन्छ, ‘गठबन्धनको सरकार भएका कारण मन्त्री हटाउन सम्भव छैन, दलले नै फिर्ता बोलाइदिए हुन्थ्यो भन्ने उहाँको कुरा छ ।’

मन्त्रीको विवादका बारेमा बुझ्न खोज्दा मुख्यमन्त्री सम्पर्कमा आउन चाहेनन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी मन्त्रीका विषयमा विवाद आएपछि मुख्यमन्त्रीले चासोका साथ हेरिरहेको बताउँछन् ।

विवादका विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेससँग मुख्यमन्त्रीले परामर्श गरेको उनले बताए । ‘मुख्यमन्त्रीज्यू यो विषयमा गम्भीर हुनुहुन्छ,’ उनले भने, ‘गम्भीरताका साथ लिएर अघि बढ्नु भएको जानकारी पाएको छु ।’

प्रकाशित मिति: बिहिबार, २६ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.