मिटरब्याज आरोपी कांग्रेस सभापति कामतले वडाध्यक्षसँग गरे जग्गा फिर्ताकाे कागज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मिटरब्याज आरोपी नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामतले वडाध्यक्षलाई जग्गा फिर्ता गर्ने सहमति गरेका छन् ।

कटहरी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मिटरब्याज आरोपी रामकुमारबाट ठगिएको भन्दै कटहरी गाउँपालिका-३ का वडाध्यक्ष जदुलाल कामतले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए ।

उजुरी परेको समाचार सार्वजनिक भएपछि असार १६ गते रामकुमारले जदुलाललाई जग्गा फिर्ता गर्ने कागजी सहमति गरेका हुन् ।

जदुलालले जग्गा खरिदका लागि रामकुमारसँग २१ लाख रुपैयाँ २०७४ सालमा ऋण लिएका थिए । सो ऋणको सावाँब्याज गरी उनले साढे ३५ लाख रुपैयाँ बुझाइसकेको दाबी गर्छन् । तर, ऋण लिँदा राखेको धरौटीबापतको जग्गा फिर्ता नगरेको उनको गुनासो थियो ।

कटहरी गाउँपालिका–३ को कार्यालयमा भएको सहमति कागजमा रामकुमारले धरौटीबापत लिएको मध्ये कित्ता नम्बर ८९० को १६९.३० बर्गमिटर जग्गा फिर्ता गर्ने सहमति छ । यो जग्गामा हरि कामत बसेका छन् । हरिले जदुलालसँग जग्गा किनेका थिए । रामकुमारले ब्याज बापत लिएको रकम मध्ये ४ लाख रुपैयाँ रकम फिर्ता गर्ने पनि कागज गरेका हुन् ।

उक्त कागज वडा कार्यालयले प्रमाणीकरण गरेको छ । यो कागजको साक्षीको रुपमा विराटनगर महानगरपालिका–८ का अभिषेक गिरी पनि छन् ।

विवादास्पद छवीका गिरी शरीर बन्धक तथा अपहरण मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्ती हुन् । कांग्रेसको राजनीतिमा सक्रिय गिरी मिटरब्याज आरोपी कामत निकट मानिन्छन् ।

रामकुमारले पहिले जग्गा फिर्ता गर्नका लागि थप २३ लाख मागिरहेका थिए । तर, विवाद बाहिरिएपछि आफूले लिएको मध्ये ४ लाख रुपैयाँ नगद फिर्ता गर्न राजी भएका हुन् ।

बाँकी जग्गा रामकुमारलाई नै भोगचलन गर्न दिने गरी सहमति भएको जदुलालले बताए । रामकुमार कामतले पनि जदुलाललाई जग्गा फिर्ता गर्न कागज गरेको स्वीकार गरे ।

दुई बीचको सहमतिको जानकारी जिल्ला प्रशासन कार्यालयमा पनि पुगेको छ ।

‘अनुचित लेनदेन मुद्दामा सहमति भएको जानकारी आएको छ, लिखित जानकारी छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने, ‘सहमतिको कागज मागेका छौं ।’

रामकुमारले जदुलालसँग गरेको जग्गा फिर्ताको सहमतिको कागज लुकाउन खोजेका थिए । अरु मिटरब्याज पीडितले पनि फिर्ता दाबीसहित उजुरी दिएका कारण लुकाउन खोजेका हुन् ।

रामवतीकाे जग्गा के गर्ने ?

मिटरब्याज आरोपी रामकुमार कामतकै कारण कटहरी गाउँपालिका–२ की ५५ वर्षीय रामवती राजवंशीले १ करोड बढी पर्ने जग्गा गुमाएकी छन् ।

आठ लाख रुपैयाँ ऋण लिँदा राखेको ८ कट्ठा जग्गा कामतले आफ्नो नाममा सारेपछि उनले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएकी छन् । उनको उजुरी बिचाराधीन छ ।

८ लाख रुपैयाँ ऋण लिनका लागि उनले आफ्नो नामको ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिएकी थिइन् ।

उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर, लिलावतीबाट रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा सिधै कामतकै नाममा पुग्यो । २०७१ सालमा ८ लाख ऋण लिदा खोसिएको जग्गा फिर्ताका लागि उनले हारगुहार गरिरहेकी छन् ।

जिल्ला प्रशासन कार्यालयमा उनले दायर गरेको उजुरी बिचाराधीन छ । तर रामकुमारलाई छानविन गर्न नेपाली कांग्रेसका नेताले अवरोध गरिरहेका छन् । मिटरब्याज आरोपी कामत, रामवतीको जग्गा आफूले सिधै नभई अरु व्यक्तीबाट खरिद गरेको दाबी गर्छन् ।

प्रकाशित मिति: बिहिबार, १९ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.