धनपालथानमा बालिकाको हत्या, अनुसन्धानका लागि काका पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ५ का अक्षय सरदार घर बनाउने काम गर्छन् । उनकी श्रीमती पनि उनीसँगै ज्यामी काम गर्छिन् । घरबाट हरेकदिन कामका लागि विराटनगर आउँछन् ।

शुक्रबार आधिबेला काम गरेर अक्षय सालो(श्रीमतीको भाइ)सँग धर्मकर्मका लागि भारत कटिहारमा रहेको मनिहारी घाट तर्फ लागे । उनकी श्रीमती माइतीघर गइन् । दुई छोरी र एक छोरालाई आमासँग( बालिकाको हजुआमा) पठाए ।

जेठा छोरा अक्षयले आमाको घरनजिकै घर बनाएका छन् । कान्छा भाइ अनिश आमासँग बस्छन् । बुबा भारत र आमा मामाघर गएका कारण अक्षयकी माइली छोरी आत्तिका भाइसँगै काकासँग सुतिन् । बुबाआमा नहुँदा पहिले पनि उनी काका र हजुरआमासँगै हुन्थिइन् ।
बिहान करिब ३ बजे हजुरआमाले उठेर हेर्दा आत्तिका घरमा थिइनन् । नातिनी घरमा नभएपछि बच्चा चोरी भएको हल्ला गाउँमा चल्यो ।
छरछिमेकी भेला भएर खोजी गरे । बिहान करिब साढे साढे ४ बजे घरबाट करिब १५० मिटर टाढा दुर्गा अधारभूत विद्यालयको बाहिर सडकको किनारमा नाबालिकाको शव फेला पर्याे ।

बालिकाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले मृतकको कान्छा काकालाई नियन्त्रणमा लिएको छ । प्रहरीको आशंका उनले नै घटना गराएका हुन् भन्ने छ । तर उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन ।

‘घटना शंकास्पद भएकाले काकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ,’ मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले भनिन्,‘सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’ बलात्कारपछि हत्या भएको आशंका भएपनि पोष्टमार्टम रिपोर्ट आइनसकेको बताइन् ।

प्रहरी स्रोतका अनुसार अनिशले शुक्रबार बेलुका मदिरा सेवन गरेको स्वीकार गरेका छन् । तर भतिजीको हत्याको विषय स्वीकार गरेका छैनन् । ‘अरु कसैको मुभमेन्ट भएको जस्तो देखिदैन, तर अनुसन्धान हुँदैछ,’ प्रहरी स्रोतले भन्यो,‘ बलात्कारपछि घटना खुल्ने डरले हत्या भएको जस्तो देखिन्छ, पोष्टमार्टम रिपोर्टपछि सबै विषय बाहिर आँउछ ।’

प्रहरीका अनुसार शव भेटिएको स्थानमा बालिकाको हत्या भएको होइन् । ‘हत्यापछि बोकेर शव स्कुलको छेउ सडकमा फालेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,‘काकाले नै भतिजी हराइन् भन्दै हल्लाखल्ला गरेको देखिन्छ ।’

मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार बलात्कार भए नभएको विषय भने खुलिसकेको छैन । बालिकाको शव पोष्टमार्टमपछि प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

मृतक बालिकाकी आफन्त अमृताकुमारी चौधरीका अनुसार बुबा आमा काममा जाँदा हजुरआमासँगै नातिनातिना बस्थे । शुक्रबार पनि घरमा जिम्मा लगाएर उनीहरु गए । बिहान शव भेटिएपछि हजुरआमा भावविह्वल छिन् ।

छिमेकी राज सरदारले बालिका हत्याको घटनाको निश्पक्ष छानविन गर्न माग गरे । ‘कोबाट यस्तो घटना भयो निश्पक्ष छानविन हुनुपर्छ,’ छिमेकी सरदारले भने,‘ कसैलाई त्यतिकै आरोप लगाउनु भएन्, प्रहरीले निश्पक्ष अनुसन्धान गर्नुपर्छ ।’

प्रकाशित मिति: शनिबार, १४ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.