२५ महिनापछि काेभिड–१९ का कारण मृत्यु, देखिएन ट्राभल हिस्ट्री

Satya Sanchar सत्य सञ्चार

विराटनगर । असार १० गते बिहान नोबेल मेडिकल कलेज विराटनगरमा इलामको सूर्याेदय नगरपालिका १० फिक्कलकी ३९ वर्षीय महिलाको मृत्यु भयो । मृतक महिलामा कोभिड १९ पोजेटिभ देखिएको थियो । नेपालमा कोभिड १९ का कारण मृत्यु भएको घटना २५ महिनाको पछिको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार २०८० बैशाख २१ यता कोरोनाको कारण मृत्यु भएको रेकर्ड थिएन ।

कोभिड १९ पोजेटिभ देखिएपछि बिएण्डसी अस्पताल बिर्तामोडले ३९ वर्षीय महिलालाई नोवेलमा रेफर गरेको थियो । मंगलबार बिहान करिब साढे ३ बजे भर्ना भएकी महिलाको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।

अस्पतालले मृत्युको कारणमा मुटु र फोक्सोको समस्या ‘कार्डियो पोल्मुनरी अरेष्ट’ भएको रिपोर्ट दिएको छ । मृतकलाई युटिआईसहित अन्य समस्या पनि देखाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीका अनुसार महिलामा कोरोना कहाँबाट संक्रमण भयो भन्ने देखिदैन । महिलाको मृत्युको कारण पनि कोभिड १९ होइन ।

‘कोभिड १९ हुन्थ्यो भने अस्पतालले कारणमा कोभिड १९ लेख्थ्यो, उहाँकोमा त्यस्तो देखिदैन,’ उनले भने,‘ ७–८ दिनदेखिको स्वास्थ्य समस्या रहेछ, त्यो समस्या कोरोनाका कारणले हो कि होइन भन्ने बुझ्दैछौँ ।’

मृत्युको एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिएण्डसी अस्पताल बिर्तामोड भर्ना गरिएको थियो । आइसियूमा उपचारपछि घर फर्किएकी उनलाई श्वासप्रश्वासको समस्या झन बढेपछि बिएण्डसी हुँदै मंगलबार बिहानको राति नोवेलमा भर्ना गरिएको थियो । दोस्रो पटक ल्याउँदा कोभिड १९ पोजेटिभ देखिएको थियो ।

उनलाई घरमा नै कोभिड १९ लागेको थियो वा अस्पतालमा उपचारका क्रममा सर्याे भन्ने खुलेको छैन । कोभिड १९ देखिएपछि सूर्याेदय नगरपालिकाले अध्ययन गरिरहेको छ ।
मृतक महिला इलामको फिक्कल बजारकी बासिन्दा हुन् । उनका श्रीमान बजारमा पसल सञ्चालन गर्छन् ।

सूर्याेदय नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीका अनुसार मृतक महिलाको ट्राभल हिस्टी छैन । उनको परिवारका सदस्यको पनि बाहिरको ट्राभल हिस्ट्री देखिएको छैन ।

‘परिवारका सदस्य कसैलाई सिम्टम छैन, सामान्य हुनुहुन्छ,’उनले भने,‘ परिवारका सदस्यहरुको कोरोना जाँच गरेका छौंनौं, काम सकिएपछि जाँच गर्छाैं ।’

मृतक महिलाका श्रीमानलाई पनि कुनै लक्षण देखिएको छैन । मृतक महिलासँग नजिक रहेका आफन्तलाई पनि लक्षण देखिएको छैन । उनका अनुसार मृतक महिलाले कोभिडविरुद्धको भ्याक्सिन लगाएको विषयमा पनि खुलेको छैन ।

‘एकसाता अघिदेखि विरामी भएको देखिन्छ, तर उहाँको ट्राभल हिस्ट्री देखिदैन,’ अधिकारी भन्छन्,‘ कसरी कोरोना पोजेटिभ देखियो भन्ने खुलेको छैन ।’ अधिकारीका अनुसार कोरोनाका कारण मृत्यु भएपछि पालिकाले सतर्कता अपनाएको छ ।

प्रकाशित मिति: बिहिबार, १२ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.