उत्पादन घटेपछि अण्डाकाे मूल्य बढ्याे

Satya Sanchar सत्य सञ्चार

चितवन । अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घटेको छ । जसका कारण माग बढ्दा मूल्य  वृद्धि भएको  छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हाे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको बताए । “पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ”, उनले भने ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । सङ्घले आजदेखि लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट चार सय ८० र मझौला  चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट ३० वृद्धि भएको छ ।

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठूलो तीन हजार ५४० र मझौला तीन हजार ३३० मा बिक्री गर्ने गरेकाे अध्यक्ष पोखरेलले बताए ।

चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उनले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन् ।   गत वर्ष प्रतिक्रेट पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० मा झरेको थियो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्छ ।

प्रकाशित मिति: बुधबार, ११ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.