विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय विद्यार्थीहरुले चार प्रकारका आयुर्वेदिक औषधी उत्पादन गरेका छन् ।
विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ फार्मेसी साइन्स (औषधी विज्ञान) मा स्नातक तह अध्यनरत विद्यार्थीहरुको समुहले प्रदेशमा पाइने जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आयुर्वेदिक औषधी उत्पादन गरेका हुन् ।
भारतको पतन्जली आयुर्वेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्यनरत विद्यार्थीको समुहले आफ्नै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स , बाम , सन्चो जस्तै चार प्रकारका औषधी उत्पादन गरेका हुन् ।
सन्चो र भिक्स अनि विदेशबाट आयात गरिने दुई प्रकारका बाम (लोसन) उत्पादन गर्न सफल भएको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए । उनका अनुसार उत्पादित औषधीहरूको नाम मनमोहन ओखती राखिएको छ । सरकारले प्रबर्द्धन गरेमा विश्वविद्यालय आफैले चाँडै बजारमा लैजाने छ । मनमोहन ओखती उत्पादन गर्दा कोशी प्रदेशमै पाइने जडिबुटीहरूको प्रयोग गरिएकाे उनले बताए ।
मधुमेहको औषधि तयार हुँदै
नेपाली जडिबुटीकाे प्रयोगबाट मधुमेह रोगकाे औषधी पनि अनुसन्धान भइरहेकाे छ । उपकुलपति पोखरेलका अनुसार विश्वविद्यालयबाट मधुमेह रोग नियन्त्रण गर्ने हिमाली क्षेत्रमा पाइने जडिबुटीमाथि अनुसन्धान हुँदैछ ।
भारतबाट बैज्ञानिक ल्याएर अनुसन्धान गरिरहेको उनले बताए । जडिबुटीबाट तयार गरिने औषधि पहिले मुसामा प्रयोग हुनेछ । त्यसपछि थप अनुसन्धान गरी अध्ययनको रिपोर्ट बाहिर ल्याइनेछ । उनका अनुसार तीन जना विज्ञको टोली औषधि अनुसन्धानमा खटिएका छन् । मधुमेह रोग नियन्त्रणका लागि नेपालकै हिमालयन जडिबुटीमा आधारित औषधि विकास गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

विश्वविद्यालयले शरिरमा सकारात्मक प्रभाव पार्ने भाइरसको पनि अनुसन्धान गरिरहेको छ । एन्टिबायोटिकले काम नगर्ने अवस्थामा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सक्ने फाइदाजनक भाइरसको पनि अनुसन्धान चलिरहेको उनले बताए । भाइरसमा सफल मिले स्वास्थ्य क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने पोखरेलको दाबी छ । अनुसन्धानमा भारतीय वैज्ञानिकलाई पनि प्रयोग गरिरहेको उनले बताए । ‘एउटा राम्रो भाइरसको खोजी र अर्काे मधुमेह रोगको औषधि नेपालको जडिबुटीबाट फाइन आउट गर्नका लागि अनुसन्धान गरिरहेका छौं,’ उनले भने,‘ अनुसन्धानमा सफलता मिले स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय हुनेछ ।’
बजेट पुगेन
मनमोहन कोशी प्रदेश सरकार मातहत रहेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा औषधिमाथि अनुसन्धान गरिरहेको विश्वविद्यालयलाई कर्मचारीलाई तलब खुवाउन पनि समस्या छ ।
उपकुलपति पोखरेलका अनुसार सरकारले बजेट नदिदा यो समस्या आएको हो । उनका अनुसार चालु आर्थिक वर्षमा तलब खुवाउन पनि बजेट अपुग भएपछि सरकारसँग बजेट थप मागिएको छ ।
विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि अध्ययन अनुसन्धान र शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरकारसँग ३७ करोड ८९ लाख बजेट माग गरेको थियो । तर सरकारले जम्मा १४ करोड मात्रै विनियोजन गरेको छ । जुन बजेट पर्याप्त छैन ।
‘विश्वविद्यालयलाई सधै बजेटको अभाव छ, बजेट माग्न जाँदा हामी अपहेलित हुनुपर्छ,’ उनले भने,‘ सरकारले पर्याप्त बजेट दिदैन ।’
‘शिक्षा क्षेत्रलाई न्यूनतम ५ प्रतिशत बजेट चाहिन्थ्यो, तर १ प्रतिशत पनि भएन, यसले कसरी परिवर्तन ल्याउँछ,’ उनले भने,‘ काम गर्न सरकारबाट सोचेजस्तो सहयोग भएको छैन ।’ सरकारले सहयोग गरे विश्वविद्यालयलाई दक्षिण एसियामा चिनाउने उनले बताए ।
विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान, र विज्ञान तथा कानुन गरी तीनवटा स्कुल अन्तर्गत विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । बीबीए, एलएलबी, क्रिमिनल ल र हस्पिटल म्यानेजमेन्ट जस्ता विशिष्ट कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
सन् २०३० सम्ममा ३०० बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान सङ्ग्रहालय स्थापना गर्ने विश्वविद्यालयको महत्त्वाकाङ्क्षी लक्ष्य रहेको पोखरेलले सुनाए ।
प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालय मातहत ल्याउने नीति लिएको छ । उपकुलपति पोखरेलले पर्याप्त बजेट र स्पष्ट योजनाबिना अस्पतालको जिम्मेवारी लिए चुनौतीपूर्ण हुने बताए । सरकारले दीर्घकालिन योजनासहित पर्याप्त बजेट विनियोजन गरे अस्पताल चलाउन सक्ने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)