सगरमाथा संवाद आजबाट,१ सय ७५ विदेशी पाहुना सहभागी हुने

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । जलवायु परिवर्तन केन्द्रित सगरमाथा संवाद आज (शुक्रबार)देखि काठमाडौंमा सुरु हुँदैछ । सगरमाथा संवादको पहिलो संस्करण ३ दिनसम्म चल्ने छ ।

संवादको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा हुने सगरमाथा संवादमा स्वदेशी तथा विदेशी गरी ३ सय ५० जना पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने, चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउने विशिष्ट पाहुनाहरू र कोप–२९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने बताइएको छ । उद्घाटनका अवसरमा सगरमाथा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ नाराका साथ सुरु हुने संवादमा विभिन्न धारणा वा विचारहरू व्यक्त गरिनेछ । संवादको पहिलो संस्करणमा १२ वटा सत्र राखिएको छ ।

संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनले यस सत्रमा बोल्ने अवसर पाउने छन् । २३ प्रतिनिधिमण्डलमध्ये प्रत्येकले ५ मिनेट बोल्न पाउने छन् ।

संवादमा तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, हानि र क्षति, उच्च भूभागहरूलाई टापुहरूसँग जोड्ने, खाद्य सुरक्षा तथा जलवायु प्रतिरोधी कृषि, समुदायको नेतृत्वमा पहलहरू, भविष्यलाई सशक्त बनाउन स्वच्छ ऊर्जाको उपयोग, पहाडको जोखिम मूल्यांकन तथा अनुगमन, दिगो सहरहरू र समुदाय, समावेशी भविष्य निर्माण गर्ने, लैंगिक तथा अन्तरपुस्ता समानता, जलवायु प्रेरित प्रकोपहरू, जोखिम न्यूनीकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

राजनीतिज्ञ, नीति निर्माता, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताहरूको गहन ढंगको छलफल र विचार आदान–प्रदान र विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन तथा पर्वतीय समस्या समाधान र सम्भावनामा जोड दिइने छ । सगरमाथा संवादमा ‘मल्टिस्टेकहोल्डर राउन्डटेवल अन्डर ग्लोबल एन्ड रिजनल पार्टनरसिप’ कार्यक्रम पनि गरिनेछ ।

यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूले भाग लिनेछन् । कार्यकमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको छ । काठमाडौं घोषणापत्र जारी गर्दै जेठ ४ गते सगरमाथा संवाद सकिने छ ।

सगरमाथा संवादको साइडलाइनमा अन्य ६ वटा कार्यक्रम गरिने परराष्ट्रमन्त्री अरजु राणाले बताइन् । उनका अनुसार सगरमाथा संवादमा सहभागी हुन आउने उच्चस्तरीय पाहुनालाई सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइट गराइनेछ, हिन्दु कुश हिमालय क्षेत्रका देशको मन्त्रीस्तरीय बैठक, वायु प्रदूषण, पेरिस सम्झौतासम्बन्धी कार्यक्रम, नेपालको अर्गानिक चिया चाख्ने, बज्र इको–स्कुलको भ्रमण कार्यक्रम छन् ।

सगरमाथा संवादमा करिब १ सय ७५ जना विदेशी पाहुना सहभागी हुने बताइएको छ । त्यतिकै संख्यामा नेपालीसहित करिब ३ सय ५० जनाको सहभागिता रहने जनाइएको छ । यसमा १२ देशबाट उच्च तहका प्रतिनिधिमण्डल सहभागी हुनेछन् । संवादमा ६१ देशका अन्तर्राष्ट्रिय संघसंस्था पनि सहभागी हुनेछन् ।

सगरमाथा संवादमा चीनबाट १४ औं राष्ट्रिय जनकांग्रेस (एनपीसी)का स्थायी कमिटी उपाध्यक्ष सियाओ जी सहभागी हुनेछन् । उनी चीनका पूर्वस्टेटा काउन्सिलर र पूर्वअर्थमन्त्री पनि हुन् ।

भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवको नेतृत्वमा एक प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ । अजरबैजानबाट कोप २९ का अध्यक्षसमेत रहेका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभको नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, ०३ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.