काठमाडाैं । आज आइतबार रामनवमी पर्व मनाइदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन यो पर्व मनाउने परम्परा छ ।
रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजाआराधना गरेर मनाउने गरिन्छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको मान्यता छ । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र र कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामको कुण्डलीमा पाँचग्रह सूर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको मान्ने चलन छ । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्र अर्थात नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको भनाइ छ । रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेर रामनवमी पर्व मनाउने गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
रामले चलाएको राज्यलाई रामराज्य भनिन्छ । रामको राज्यबाट सारा मानिस खुसी थिए । त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित रहेको मानिन्छ । रामलाई मर्यादा पुरुषोत्तमसमेत भन्ने गरिन्छ ।
नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने जनविश्वास छ । रामनवमीमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गर्ने गरिन्छ । रामनवमीका दिन देवीको पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैं मान्ने गरिन्थ्यो । तर, धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैंका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैं भनिन्छ ।
चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भइ वैकुण्ठबास प्राप्त हुन्छ मान्यता छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
रामनवमी जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसेर रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने एवं भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भइ भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको शास्त्रीय मत छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले रामको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
रामनवमीमा अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)