कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक २८ वर्षपछि घर आएका छन् । उनी अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् ।
त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो ।
भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुगेका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुगे । उनीसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ ।
त्यसपछि उनी महेन्द्रनगर बजार हुँदै झलारी बजार झरे । चिनजानका व्यक्तिसँग भेटभयो । तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाए । चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पुर्याइ दिन आग्रह गरे । अटो चालकले धानुकलाई घरमै पुर्याइदिए । यो गत शनिबारको कुरा हो ।
धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उनको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा हुन् । भारतकै बनारस बस्ने उनै धर्म आमा र उनकी १३ वर्षीया नातिनिपनि धानुकसँगै आएकी छिन् ।
धानुकले भने, ‘छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु।’
घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुगेको उनको गतिलो कमाइ थिएन । काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो ।
‘कामकै खोजीमा कहिले यता पुग्थेँ, कहिले उता’, विगत सम्झँदै उनले भने, ‘घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थेँ, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ।’
उनका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो । ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो । त्यहाँ दुवै जनाको आउजाउ थियो । ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाए । त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थाले ।
ती वृद्धाका छोरा थिएनन्, उनले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गरे । ‘सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरेँ’, उनले भने, ‘तिनै वृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगेँ, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन। परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न।’
धानुकका छोरा गणेशबहादुर ३३ वर्षको भए । यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उनी बताउँछन् । ‘सानै छँदा बुवाले छाडेर जानुभएको थियो’, उनले भने, ‘अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ।’
धेरै वर्षपछि घर आएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ । स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उनकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् ।
उनले भने, ‘उहाँको धर्म आमाो कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ।’ धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)