विराटनगर । देशको सर्वाेच्च पदमा (राष्ट्रपति) पुग्ने पहिलो महिला विद्यादेवी भण्डारीको राजनीति फस्टाएको क्याम्पस हो, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस ।
२०१२ सालमा स्थापना भएको महेन्द्र मोरङ कुनै समय नेता उत्पादन गर्ने थलोको रुपमा परिचित थियो । महेन्द्र मोरङबाटै स्वर्गीय भरतमोहन अधिकारी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, विजयकुमार गच्छदार, महेश आचार्यलगायत राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दर्जनौं नेता उत्पादन भए ।
गर्विलो इतिहास बोकेको महेन्द्र मोरङको अवस्था खस्कँदो छ,महेन्द्र मोरङको मात्रै होइन । समग्र विद्यार्थी राजनीति नै आरालो छ । ‘हिजो दलहरुको खुला राजनीति गर्ने र प्रभाव विस्तार गर्ने मूल थलो थियो, दलहरु प्रतिबन्धमा हुँदा विद्यार्थी मुभमेन्ट प्रभावकारी थियो,’ महेन्द्र मोरङका पूर्वस्ववियु सभापति तथा नेकपा (एकिकृत समाजवादी पार्टी)का नेता महेश रेग्मी भन्छन्,‘ हिजोआज त्यो चार्मिङ छैन ।’
विद्यार्थी राजनीति कमजोर हुँदै गएको उनले बताए । ‘ हिजो विद्यार्थी राजनीतिबाट सामाजिक उत्तरदायित्व, परिवर्तनका लागि योगदान दिनुपर्छ भन्ने बिचार प्रवाह हुन्थ्यो, त्यो विस्तारै हराएर गएको छ,’ उनले भने,‘ विद्यार्थी शैक्षिक आन्दोलन तर्फ पनि केन्द्रीत भएको देखिदैन,चुनाव आउँदा मात्रै सक्रिय हुने अवस्था देखिन्छ ।’
पूर्वसभापति भीम पराजुली पनि विद्यार्थी राजनीति ओरालो लागेको स्विकार गर्छन् । ‘ पहिले महेन्द्र मोरङको स्ववियु सदस्य पनि लिडर हुन्थ्यो, महेन्द्र मोरङले धेरै लिडरहरू जन्मायो,’ उनी भन्छन्,‘ अहिले विद्यार्थी आन्दोलन नै कमजोर भयो ।’
हिजो विद्यालय तहदेखि नै दिक्षत हुने परम्परा रहेको बताउँदै अहिले त्यो अवस्था नरहेको बताए । ‘विद्यार्थी आन्दोलन कमजोर हुँदा युवाको मुभमेन्ट कमजोर हुन्छ,’ उनले भने,‘ दलहरुले विद्यार्थीको महत्वलाई चासो दिन छाडे ।’ लोकतन्त्र प्राप्तिपछि विद्यार्थी आन्दोलनपछि विद्यार्थी मुभमेन्ट कमजोर भएको बताउँदै उनले दलहरुले आन्तरिक प्रतिस्पर्धालाई प्रोत्साहन गरेर युवालाई नीति निर्माणको तहमा लैजानुपर्ने बताए ।
यस्तो छ इतिहास
महेन्द्र मोरङ क्याम्पसमा २०३६ सालमा पहिलो पटक स्ववियु निर्वाचन भएको थियो । त्यसबेला ध्रुवनारायण श्रेष्ठ स्ववियु सभापति भए । विद्यार्थी राजनीतिपछि उनी तत्कालिन विराटनगर उपमहानगरपालिकाको मेयर बने । उनी अहिले सक्रिय राजनीतिमा छैनन ।
२०३८ सालमा स्ववियु विजयकुमार गच्छदारको समूहले कब्जा गर्याे । पूर्वस्ववियु सभापति महेश रेग्मीका अनुसार २०३८ असोजमा भएको स्ववियु निर्वाचनमा सीताराम पोखरेलले जित्ने अवस्था थियो । तर मध्यरातमा मतपत्र जलाएर जबरजस्ती गच्छदारलाई सभापति घोषणा गरियो । तर उनले काम गर्न पाएनन्, २०३८ साल मंसिरमा भने फणिन्द्र तिम्सिनाको हत्या भएको थियो । तिम्सिनाको हत्यापछि स्ववियुले काम गर्न पाएन ।
त्यसपछि २०४० मा भएको निर्वाचनमा सभापतिमा भरतराज पोखरेल निर्वाचित भए । पोखरेलकै समितिको कोषाध्यक्ष थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । पोखरेल पनि समय सक्रिय राजनीतिमा छैनन ।
२०४१ सालको स्ववियु सभापति रमेश भट्टराईले जिते । उनी पनि सक्रिय राजनीतिमा छैनन । २०४३ को स्ववियु सभापति भुराज राईले जिते । विराटनगरको पूर्वउपप्रधान पञ्च बनेका उनी पछिल्लो समय एमालेको राजनीतिमा छन् । २०४५ मा महेश रेग्मी निर्वाचित भए । उनले २०४९ सालसम्म सभापति चलाए । उनी नेकपा एकिकृत समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य छन् । २०४९ सालको निर्वाचनमा यदु विष्ट सभापति निर्वाचित भए ।
उनी नेपाली कांग्रेसको राजनीतिमा छन् । विष्टपछि २०५१ सालको स्ववियु निर्वाचनमा गुरुराज घिमिरे निर्वाचित भए । उनी पनि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।
२०५३ सालमा ऋषिकेश पोखरेल निर्वाचित भए । उनी नेकपा एमालेमा छन् । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन् । २०५५ सालमा उपेन्द्र गच्छदार निर्वाचित भए । उनी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । गच्छदारपछि २०५७ सालको निर्वाचनमा सागर थापाले सभापति जिते । उनी एमालेको वर्तमान जिल्ला उपाध्यक्ष हुन् । सागरको कार्यकालपछि २०६२ सालको स्ववियु निर्वाचनमा भीम पराजुली निर्वाचित भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर हुन्, कोशी प्रदेशको वर्तमान सांसद ।
२०६५ सालको स्ववियु निर्वाचनमा जयराम सुन्दास निर्वाचित भए । नेकपा माओवादी केन्द्रमा आवद्ध उनी राजनीतिमा कम वकालत पेशामा बढी सक्रिय छन् । विराटनगरमा उनी ल फर्म चलाउँछन् । २०६५ पछि लामो समयसम्म महेन्द्र मोरङमा स्ववियु निर्वाचन भएन । १४ वर्षपछि २०७९ साल भएको निर्वाचनमा जसवन्त पौडेल विजयी भए ।
को–को छन् प्रतिस्पर्धी
भोलि चैत ५ गते हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनेछ । नयाँ नेतृत्वका लागि एक स्वतन्त्रसहित सात जना उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार योगराज दाहाल नेपाल विद्यार्थी संघ इतर समूहका हुन् । नेविसङ्घबाट दाहाल र प्रज्वल विष्टले उम्मेदवारी दिएको थियो ।विष्टले आधिकारिता पाएका थिए ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट अनिश बोगटी अध्यक्षको उम्मेदवार छन् । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाट रोहित यादव अध्यक्षको उम्मेदवार छन् । सभापतिमा विद्यार्थी जनमत संघबाट रुपेश सिंह, अखिल क्रान्तिकारी बहुमतबाट अनिसा राई, प्राज्ञिक विद्यार्थी परिषद्बाट विवश कटुवाल अध्यक्षको उम्मेदवार छन् । सात जना प्रतिस्पर्धी भएपनि मुख्य प्रतिस्पर्धा भने नेविसंघ, अखिल र अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धी हुन् ।
नेविसंघ भित्र विवाद भएका कारण अखिल र अखिल क्रान्तिकारीले आफ्ना जित निकाल्ने दाबी गर्छन् । नेविसंघको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ ।
‘बिगतका भन्दा हाम्रो तयारी राम्रो छ,’ अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादव भन्छन्,‘ स्ववियुमा यसपाली हामीले जित्दैछौँ ।’
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जोसेफ घिमिरे पनि निर्वाचन जित्ने दाबी गर्छन् । ‘ तयारी राम्रै भइहरेको छ, हामी चुनाव जित्छौं,’ उनले भने ।
नेविसंघ संस्थापन पक्षका नेता तथा वर्तमान स्ववियु सभापति जसवन्त पौडेल चुनाव जित्ने दाबी गर्छन् । ‘हाम्रो माहोल राम्रो छ, चुनाव जित्दैछौँ,’ उनले भने,‘ अर्काे पक्षले खासै ठूलो असर गर्दैन ।’
नेविसंघ इतर पक्षले भने निर्वाचन हुन नदिने चेतावनी दिदै आएको छ । महेन्द्र मोरङमा २ हजा। ८ सय ९० छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)