विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गरे । विगतमा घोचपेच पूर्ण भाषण गर्ने प्रधानमन्त्री ओलीले प्रदेशसभामा सम्बाेधनका क्रममा कसैलाई घोचपेच गरेनन् । १ घण्टा ५ मिनेट उनले सरकारले गरेका काम र गर्नुपर्ने कामका विषयमा खर्च गरे । पौराणिक विषय पनि राख्न छुटाएनन् ।
यसअघि फागुन ५ लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन गरे । लुम्बिनीपछि कर्णाली प्रदेशसभामा फागुन २३ र २५ गते सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए ।
प्रदेशले पाउने अधिकार नदिएको आलोचना संघीय सरकार माथि छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले प्रदेशसभाको सम्बोधनलाई प्राथमिकतामा राखेका छन् ।
ओलीको लगातार प्रदेश दौडाहाले दिन खोजेको सन्देश के हो ? कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी भन्छन्,‘आजको मूल कार्यभार मुलुक निर्माण गर्ने हो, दशवटा बखेडा गर्ने काम छैन ।’
मुलक निर्माणको एजेण्डामा सरकार समर्पित भएर लागेको सन्देश प्रदेशसभा मार्फत प्रधानमन्त्रीले दिइरहेको उनले बताए । संघीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकारपनि नियमित रुपमा दिइरहेको उनले बताए । ‘यातायातको सम्पूर्ण अधिकार आइसक्यो, भूमिको दिने प्रकृया सुरु भयो,’ उनले भने,‘ खाली प्रहरीको विषयलाई मात्रै हेरेर हुँदैन ।’
कांग्रेस नेता तथा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई प्रधानमन्त्रीले प्रदेशसभालाई गर्ने सम्बोधनको सन्देश प्रदेशसँगकाे सम्बन्ध सुमधुर बनाउने भएको बताउँछन् ।
‘यसको सन्देश खास केही छैन, संघ र प्रदेशको सम्बन्धलाई सुमधुर बनाउन खोज्नुभएको हुनसक्छ,’उनले भने,‘ प्रदेशलाई दिनुपर्ने अधिकारहरु संघिय सरकार मार्फत आइरहेको छैन, पहिलो कार्यकालमै आइसक्नु पर्ने हो ।’
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने प्रधानमन्त्रीको सम्बोधन औचित्यहीन भएको बताउँछन् । ‘यहाँ आएर उहाँले संघीयतालाई बलियो बनाउने कुरा, प्रदेशलाई अधिकार सम्पन्न गर्ने, कानुन निर्माणको कुरा गर्नु पथ्र्याे, किनभने प्रदेशले सरकारको स्वरुप नै ग्रहण गरिसकेको छैन,’ उनले भने,‘ संघीयतालाई संस्थागत गर्ने, प्रदेशलाई अधिकारसम्पन्न गर्ने कुरा केही आएन, ओलाङचुङगोला र किमाथाङ्कासम्म गाडी पुगेको हावादारी गफ दिनुभयो ।’
प्रदेशप्रति प्रधानमन्त्रीले उपेक्षा देखाएको उनी बताउँछन् । ‘संघीयतालाई बलियो बनाउने होइन, संघियता प्रति, प्रदेशप्रति उहाँको उपेक्षा देखियो,’ उनले भने,‘सामान्य आएर औपचारिकता पूरा गरेजस्तो मात्रै भयो, अर्थहिन र औचित्यहीन छ यो सम्बोधन ।’ सबै कानुन निर्माण भएपछि मात्रै संघियता बलियो हुने बताउँदै उनले प्रधानमन्त्रीबाट सो प्रतिवद्धता नआएको बताए ।
१ घण्टा ५ मिनेटको भाषण : कसैलाई गरेनन् घोचपेच
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा बैठकमा घोचपेच गरेर बोल्ने हुन कि भन्ने चिन्ता प्रतिपक्षी दललाई थियो । सोही विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले प्रधानमन्त्रीको सम्बोधन अघि बैठक बहिस्कार गर्ने भन्दै सरकारलाई घुर्की लगाए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आश्वस्त पारेपछि प्रतिपक्षी दल बैठकमा सहभागी भए ।
प्रधानमन्त्रीको सम्बोधनपछि बैठक हल बाहिर सांसदहरु प्रधानमन्त्रीले कसैलाई घोचपेच नगरेको भन्दै अचम्म मानिरहेका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो प्रतिपक्षी दलको अभिव्यक्तिपछि प्रधानमन्त्रीले कसैलाई घोचपेच नगरी बोलेको बताउँछन् । उनी भन्छन्,‘ यसरी घोचपेच नगरी बोलेको सुन्नुभएको थियो ?’
भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई प्रधानमन्त्रीको सम्बोधन उदाहरणीय भएको बताउँछन् । ‘आज उहाँको मन्तव्य व्यावहारिक, नेपाललाई समुन्नत बनाउनका लागि कसरी गर्न सकिन्छ भन्ने आफ्नो परिकल्पनाहरू सुनाउनु भयो,’ उनले भने,‘ नेतृत्वले प्रदेश र प्रतिनिधिसभामा बोल्दै गर्दा घोचपेच अथवा राजनीतिक भाषण मात्रै होइन, यस्ता व्यावहारिक भाषण पनि गर्न सकिन्छ भन्ने प्रस्तुत गर्नुभएको छ, यो एउटा उदाहरणीय पक्ष पनि हो ।’
नेकपा एमाले प्रमुख सचेतक विदुर लिङथेम प्रधानमन्त्रीको सम्बोधनले ठूलो अर्थ राख्ने बताउँछन् । ‘प्रधानमन्त्रीको सम्बोधनले ठूलो अर्थ राख्छ, केन्द्रदेखि प्रदेशसम्मको बजेट निर्माणको तयारी भइरहेको छ, त्यो सन्धर्वदेखि विकास निर्माण र समसामयीक राजनीतिका विषयमा पनि अवगत हुने अवसर प्राप्त भयोे,’ उनले भने,‘संघ र प्रदेशको सम्बन्धनलाई मजबुद बनाउँछ, प्रदेश र संघ मिलेर नै राष्ट्रको उन्नती गर्छ ।’ प्रदेशलाई दिने अधिकारका विषयमा भने प्रदेशले प्राप्त गर्ने अधिकार आउने क्रममा रहेको उनी बताउँछन् ।
पछाडि फर्कने छुट छैन
उनले मुलुकलाई पछि पार्ने नभइ अघि बढाउने बताए । ‘मुलुकलाई अगाडि बढाउने हो । मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोक मार्गजस्ता ठूलो आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । दिगो विकास लक्ष्य भेट्नका लागि मुलुकमा ४८ प्रतिशत काम अघि बढेको छ,’ उनले भने ।
कोशी आफ्नो गृह प्रदेश भएको बताउँदै ओलीले कोशी प्रदेशको विकास तीव्र गतिमा हुनुपर्नेमा जोड दिएका छन् । व्यवस्थाविरुद्ध आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो भनेर प्रश्न गरेका छन् । राम्रो प्रणालीका लागि तयार रहेको बताउँदै उनले लोकतान्त्रिक प्रणालीको बाटोबाट नै सरकार अघि बढ्ने स्पष्ट पारे ।
‘अहिले व्यवस्था र संविधानका विरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त ? यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ ? यो भन्दा राम्रो प्रणाली के हो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘एकाध मान्छेका स्वार्थको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’ त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको बताए ।
‘शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली, बाटो त्यसका लागि तयार गरेका छौं । आजको हाम्रो तरिका त्यो हो । सामाजिक मूल्यमान्यतालाई दखल नपारि अघि बढ्ने बाटो हो । त्यो गर्छौं । यसरी हामी राजनीतिक हिसाबले स्पष्ट छौं ।’ उनले भने ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)