धरान । शिवकुमार विश्वकर्मा (लामिछाने)सहितको समूहले बराह बचत तथा ऋण सहकारी संस्था मार्फत १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना गरेको दाबीसहित जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ । १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन गरेको दाबीसहित २६२ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
मुद्दामा प्रतिवादी बनाइएका ३५ जना बाहेक अन्य ऋणी हुन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा सर्वसाधारणको बचत तथा शेयर जम्मा गरेको रकम व्यक्तिगत सम्पति खरिदमा र बराह ग्रुप अफ कम्पनी अन्तरगतका १४ वटा कम्पनीमा लगानी गरेको उल्लेख छ ।
अनुसन्धानका क्रममा यो सहकारीको नाममा बैंक मौज्जात भने ७ लाख २७ हजार ७८० रुपैयाँ देखिएकाे थियाे ।
बराह ज्वेलरी हुँदै उदाएको बराह ग्रुपले बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेको थियो । सहकारीको बचत मास्नका लागि ज्वेलरीमार्फत कारोबार भएकाे थियाे ।
सहकारीको दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँ छ । जसमा ज्वेलरीमा जम्मा भएको ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ हो । शेयर रकम १० करोड १३ लाख ९७ हजार ३ सय, सहकारीमा भएको बचत ६८ करोड ९७ लाख ३४ हजार ६४७ रुपैयाँ र बचतको व्याज १ करोड ५५ लाख ३५ हजार ३०६ रुपैयाँ छ । सहकारीको दायित्व पुरा गर्नका लागि सञ्चालकबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नुपर्ने अभियाेगमा उल्लेख छ ।
बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा(लामिछाने)बाट ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ हिनामिना भएकाले सोही अनुसार असुल गर्नुपर्ने अभियोग दाबी छ ।
शिवकुमार स्वयम्ले भने २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैया अपचलन गरेको दाबी छ । उनका बुबाले स्वर्गीय इन्द्रकुमार विश्वकर्माले २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ, विष्णुमाया विश्वकमाको नाममा ७१ करोड हिनामिना भएको देखिन्छ । बुबाआमा नै नभएका कारण उनीहरुको दायित्वपनि छोरा शिवमा सरेको छ ।
शिवकी बहिनी मन्दिरा लामिछानेबाट १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय रुपैयाँ, बराह बचत तथा ऋण सकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माबाट १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७ रुपैयाँ, हरिकुमार धमाल (विश्वकर्मा)बाट ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैयाँ, प्रकाश लामगादेबाट ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीबाट ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैयाँ असुल गर्नुपर्ने अभियोग दाबी छ ।
शिवसहित ३५ जनाविरुद्ध सहकारी ऐन २०७४ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको बिगो र सजायको माग दाबी गरिएको छ ।
बराह ग्रुप अन्तरगतको बराह ज्वेलरी र बराह सहकारीबाट ठगिएको भन्दै ४१६८ वटा जाहेरी दर्ता भएको थियो, जसमा ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रुपैयाँ रकम भराउन माग गरिएको छ ।
बराह सकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका मध्ये मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) वि.क, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फुलकुमारी भन्ने फूलमाया राई, सुदिन वि.क.,महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, बिक्रम गजमेर पक्राउ परेका थिए । उनीहरुको बयान जारी छ ।
पक्राउ परेकी रिना राई बराह ग्रुपका अध्यक्ष शिव विश्वकर्माकी श्रीमती हुन् । बराह सहकारी संकटमा परेपछि उनीहरुले सम्बन्ध बिच्छेद गरेका थिए । उनले बयानका क्रममा ससुराबुबा इन्द्रबहादुर विश्वकर्माको मृत्युपछि कम्पनी समस्या परेको उल्लेख गरेकी छन् । २०६९ माघ १६ गते इन्द्रबहादुर हङकङमा भुण्डिएको अवस्थामा मृत भेटिएका थिए । त्यसबेलासम्म हङकङको कारोबार रिना र शिवले हेर्थे । इन्द्रबहादुरको मृत्युपछि व्यवसाय सञ्चालनका लागि शिव नेपाल फर्किएका थिए ।
अनुसन्धानका क्रममा सहकारीको रकम न्यू बराह ज्वेलरी, न्यूरोड पिपलबोट, बराह इण्डष्ट्रिज, बराह बचत तथा ऋण सहकारी संस्था लि. धरान, भद्रकाली सुनचाँदी पसल लाजिम्पाट, टाइम्स रेमिट प्रा.लि., गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिय प्रा.लि नयाँ रोड पोखरा, न्यू बराह ज्वेलर्स न्यूरोड, बराह नेसनल इन्भेष्टमेन्ट प्रा.लि., बराह मोटर्स प्रा.लि., इन्द्र बराह ट्राभल्स एण्ड टुर्स प्रा.लि., इन्द्र बराह ज्वेलरी प्रा.लि. तालचिखे, नारायण बराह ज्वेलरी, बराह कृषि उपज तथा पशुपालन प्रा.लि., बराह फेमली किचेन प्रा.लि., बराह बाल संसार गेमजोन एण्ड कृपा १६ डि. इन्टरटेन्मेन्ट, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रा.लि. भेडेटार, बराह डिपार्टमेन्ट स्टोर प्रा.लि., बराह प्रोपर्टी सर्भिस प्रा.लि., पिपलबोट बराह ज्वेलर्स प्रा.लि., श्रीपा सुपर मार्केट स्टोर प्रा.लि., बराहा ग्रुप अफ कम्पनी, बराहा चिल्डेन वल्र्ड प्रा.लिलगायतका ग्रुपले लगानी गरेको देखिएको थियो ।
बराह ग्रुपले नेपाल बाहेक युएईमा दुई वटा, हङकङ र युकेमा एउटा कम्पनी खोलेको थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)