विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोलेका नेताहरुले नयाँ नेतृत्वका लागि गुटबन्दी नगर्न निर्देशन दिए । शनिबारबाट सुरु अधिवेशनकाे उद्घाटनमा बाेल्ने नेताहरुले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने तर्क गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।
प्रमुख अतिथिसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष केपी शर्मा ओलीको सन्देश भन्दै कसैलाई गुटबन्दी गर्ने छुट नभएको बताए । जिल्ला अधिवेशन उद्घाटनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउने तयारी थियो । तर ओलीले अन्तिम समयमा बादललाई विराटनगर पठाए । ‘अध्यक्षको सन्देश लिएर यहाँ आएको छु’, थापाले भने,‘ प्यानलको रुपमा उम्मेदवार खडा गरे गुटबन्दी गर्ने छुट कसैलाई छैन ।’
प्यानल बनाउँदा गुटबन्दी हुने उल्लेख गर्दै उनले सहमतिका आधारमा नेतृत्व चयन गर्न आग्रह गरे । एमाले उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली, कोशी प्रदेश इञ्चार्ज शेरधन राईलगायत नेताले सहमतिमा अघि बढ्नुपर्ने बताए ।
पार्टी नेताले गुटबन्दी नगर्न निर्देशन दिइरहदा जिल्लामा दुई वटा प्यानल तयार भएको छ । अधिवेशनमा संस्थापन र इतर पक्षका नाममा प्यानल बनेकाे हाे । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । ढकाल पार्टी राजनीतिमा मोरङमा प्रभाव जमाएका नेता हुन् । ढकाल २०८० असोजमा भएको पहिलो कोशी प्रदेश अधिवेशनमा प्रदेश अध्यक्षको उम्मेदवार थिए । ओलीसहित पार्टी नेतृत्वले घनश्याम खतिवडालाई अघि बढायाे । ढकालले ४३० मत प्राप्त गर्दा खतिवडा ५१२ मतसहित विजयी भएका थिए । जिल्ला अधिवेशनमा पनि प्यानल तयार भएको हो ।
संस्थापन पक्ष भनिएकाे समूहले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । कोशी प्रदेशका पूर्वसांसद ओझाले आफू संस्थापन समूहबाट उम्मेदवार भन्दै भोट मागिरहेका छन् । विनोद ढकाल पक्षले अजम्बर राईलाई अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । राई जिल्ला समन्वय समिति प्रमुख हुन् ।
ढकालको समूहबाट उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी छ । संस्थापन पक्षले शान्ति भुजेललाई अघि सार्ने तयारी गरेको छ ।
सचिवमा ढकालको समूहले सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । संस्थापन पक्षले भने रविन थापालाई अघि सार्ने तयारी गरेको छ ।
ढकालको समूहबाट उपसचिवमा उषा झा र सन्तोष बान्तवालाई अघि सार्ने तयारी छ । संस्थापन पक्षले उपसचिव नाम भने टुङ्गो लगाएको छैन ।
३ दिनसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएर आएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)