दाङ । २६ वर्षीय युवक वीरेन्द्र खड्का व्यावसायिक रूपमा स्ट्रबेरीको खेती गर्छन् । दुई वर्षदेखि स्ट्रबेरीखेती गरेका उनले पछिल्लो वर्ष १४ लाख बराबरको कारोबार गरे । ६ लाख रुपैयाँ बचत गरेका छन् ।
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरी खेतीबाट सोचेभन्दा पनि राम्रो भएको बताए ।
सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आएका उनले १४ लाख बराबरको कारोबार भएको बताए । उनका अनुसार दाङमा स्ट्रबेरी प्रतिकिलो आठ सयका दरले बिक्री हुन्छ ।
बारीबाट दैनिक २०–२५ किलोसम्मको बिक्री गर्दै आएको उनले बताए ।
‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ,’ उनले भने,‘ विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’
घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरिरहेका छन् । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उनले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्छन् भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आएका छन् ।
स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भने, ‘बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।’
स्ट्रबेरीको उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उनले जिल्लामा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुर, लमहीलगायत बजारमा बिक्री भइरहेको उनले बताए । परम्परागत कृषि व्यवसायलाई बदल्दै आधुनिक प्रविधिका माध्यमबाट नयाँ व्यवसाय गर्नुपर्छ भनेर जिल्लामा स्ट्रबेरी खेती गर्दै आएको उनले बताए । किसान खड्काले यस वर्षदेखि रोल्पामा पनि सात रोपनी जग्गामा स्ट्रबेरीको व्यावसायिक खेती थालेका छन् ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताए । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उनको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिग्रेर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताए ।
जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको उनको भनाइ छ । ‘स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो’, उनले भने, ‘आज भोलिको समय राम्रो हुन्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)