विराटनगर । सुनसरीको धरानमा बराह ग्रुप अफ कम्पनी मार्फत १० अर्ब ७३ करोड बढी रकम अपचलन भएको छ । ग्रुपमार्फत खुलेका बराह बचत तथा ऋण सहकारी संस्था,बराह ज्वेलरी इन्ड्रष्टिज प्रालिसहितका कम्पनी मार्फत १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भएको भेटिएको हो ।
सर्वसाधारणबाट संकलन गरेको बचत संस्थाबाट ज्वेलरीमा लगानी भएको देखिन्छ । बराह सहकारीबाट बराह ज्वेलरी इन्ड्रष्टिज प्रालिका नाममा २७ करोड भन्दा बढी लगानी भएको छ । यो रकम मध्ये १५ करोड ८४ लाख कर्मचारीको नाममा लिइएको हो । सहकारीबाट ज्वेलरीले आफ्ना कर्मचारीको नाममा ऋण लिएको हो ।
सहकारीको विवरण अनुसार बराह ज्वेलरीले २६ जना कर्मचारीको नाममा सहकारीबाट १५ करोड ८४ लाख रुपैयाँ ऋण निकालेको देखिन्छ ।
सहकारीको बचत अपचलनका लागि सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले आफ्नै छोराको नाममा पनि ४५ लाख रुपैयाँ ऋण दिएको देखिन्छ । यो ऋण पनि बराह ज्वेलरी इन्ड्रष्टिज प्रालिमै लगानी भएको छ ।
सहकारीबाट अध्यक्षका छोरा सम्योग दियाली बिकले २०७६ साल जेठ ३२ गते ४५ लाख रुपैयाँ ऋण निकालेको देखिन्छ, सोही दिन बराह ज्वेलरी इन्ड्रष्टिज प्रालिका अख्तीयार प्राप्त व्यक्ती अम्बरबहादुर विश्वकर्माले उनीसँग ऋण कम्पनीले चलाउने कुवुलियतनामा गरेका छन् ।
२६ वटै कवुलियतनामाको भाष एउटै छ । जसमा भनिएको छ,‘…..ले बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिई उक्त रकम सोही मितिमा बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा लिको व्यापार व्यवसाय संचालन एवम् प्रवद्र्धन गर्नको लागि लिएको ठिक साँचो हो । उक्त ऋण रकमको संस्थामा बुझाउनु पर्ने नियमानुसारको सावाँ तथा व्याज रकम यस प्रा. लि. ले बुझाउने छ । उक्त ऋण रकम बराबरको सम्पूर्ण तिर्नु पर्ने दायित्व रकम यस बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिले बराह बचत तथा ऋण सहकारी संस्थामा बुझाउने कबुलियतनामा गरिदिएको छु ।’
कर्मचारीको नाममा ४५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण लिइएको देखाइएको छ । प्रहरीका अनुसार सहकारीको सफ्टवेरमा भएको डाटामा भने कर्मचारीको नाम ऋण छैन । अनुसन्धानका क्रममा संस्थाले लिएको ऋणका विषयमा कर्मचारीले विरोध गरेपछि कर्मचारीको नाम हटाएर बराह इन्ड्रष्टिजकै नाम राखेको खुलेको थियो ।
सहकारीको बचत पासबुक भर्दै बराह इन्ड्रिजले नै बचत संकलन पनि गरेको थियो । ‘बराह सहकारीको पास बुक दिएर बराह ज्वेलरीले कारोबार गरेको भेटियो, ज्वेलरीमा सहकारीको पासबुकमा लेख्ने र तर कारोबार चाहिँ पसलमा हुन्थ्यो,’ अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ,‘ सहकारीका नाममा ब्रम्हलुट नै मच्चाएको देखियो ।’
२१६ जनालाई मुद्दा चलाउन सिफारिस
सहकारी ठगी प्रकरणको करिब तीन महिना अनुसन्धान गरी प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । अनुसन्धान प्रतिवेदनमा सहकारी र कम्पनीका ४८ जना सञ्चालक र ऋणीसहित २१६ जनालाई प्रतिबादी बनाउन राय दिइएको छ ।
उनीहरुबाट १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ असुलउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रहरीका अनुसार असुल गर्नुपर्ने रकम ऋणीबाट थोरै छ । सञ्चालकबाट धेरै छ । सहकारीबाट ठगिएको भन्दै ४ हजार १४७ वटा जाहेरी परेको थियो, जसमा ४ हजार ७६० जना पीडित छन् ।
जाहेरीका आधारमा मात्रै ५ अर्ब ८५ करोड ९६ लाख ७२ हजार ७१० रुपैयाँ बचत फिर्ता माग गरिएको छ । प्रहरीका अनुसार सहकारी र ज्वेलरीमा १३ हजार बचतकर्ता रहेको देखिन्छ । तर सबैको जाहेरी परेको छैन ।
‘ठूलो एमाउन्ट सहकारीमा जम्मा भएको होइन, सहकारीको दायित्व मात्रै एक अर्ब २२ करोड हाराहारी मात्रै पुग्छ ।’प्रहरी स्रोत भन्छ,‘ सहकारीको पासबुकमा ज्वेलरीमा कारोबार भएको छ, यो रकम धेरै छ ।’ सर्वसाधारणबाट दैनिक बचत मार्फत संकलन हुने रकम बराह ग्रुपका सञ्चालकले आफ्नो कम्पनीमा लगानी गर्थे । बराह ग्रुप मातहत २८ वटा सहायक कम्पनी छन् ।
अन्य जिल्लामा पनि ठगी
प्रहरीका अनुसार सहकारीको नाममा शिव लामिछाने परिवारले बराह ग्रुप ठगीको सामराज्य नै चलाएको देखिन्छ । यो ग्रुपले देशभरबाट सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबाएको छ । सुनसरी प्रहरीको अनुसन्धानमा धरानमा मात्रै १० अर्ब ७३ करोड अनियमितता भएको खुलेको छ । चितवन, काठमाडौं र कास्कीमा पनि अनुसन्धान जारी छ ।
२०५२ सालमा भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने(विश्वकर्मां)ले धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । सुरुदेखि नै ज्वेलरी मार्फत आकर्षक ब्याजको लोभ देखाएर बचत संकलन गर्थे ।
ब्राण्डको रुपमा स्थापीत भएपछि बराहले आफ्नो नामको पछाडि‘विश्वासको प्रतिक’ उपनाम थपेको थियो ।
सुन पसलमा बचत तथा ऋणको कारोबारमा रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो ।
आफ्नै सहकारी मार्फत बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रालीमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपाटमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह भेडेटार मल्टी प्रपोज प्रालीमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशु पालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३८२, बराह भेडेटार मल्टी प्रपोज प्रालीमा थप २८ लाख २५ हजार २३८ रुपैयाँ लगानी भएको देखिन्छ ।
यो लगानीको हिसाबकिताब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभाको संसदीय छानविन विशेष समितिमा बयानका क्रममा पनि प्रस्तुत गरेका थिए । २०५२ सालमा स्थापना भएको ज्वेलरीले २०६९ सालसम्म आफ्नो व्यापारिक साम्राज्य विस्तार गरिसकेको थियो । २०६९ साल माघमा हङकङ गएका बेला इन्द्र उतै झुण्डिएको अवस्थामा मृत भेटिए । उनको मृत्युपछि अधोगति सुरु भएको बराह ग्रुप कोरोना महामारीपछि डुबेको थियो । लामिछानेले परिवारका सदस्यहरुलाई मात्रै राखे बराह ज्वेलरी प्राली, बराह फेमली किचेन, बराह डिपाटमेन्ट स्टोर, बराह भेडेटार मल्टी प्रपोज प्राली, बराह कृषि उपज तथा पशु पालन प्रालि, कृपा दृश्य डिजिटल प्रोडक्सन प्रालि खोलेका थिए ।
धरान बाहिर इन्द्र बराह ट्राभल्स एण्ड टुर्श प्रालि काठमाडौ, नारायण बराह ज्वेलरी इण्ड्रष्टिज प्रालि भरतपुर चितवन, गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्टिज प्रालि पोखरा, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि काठमाडौ, बराह प्रपटी सर्भिेसस प्राली काठमाडौं,बराह नेशनल इन्भेष्टमेन्ट प्रालि, काठमाडौं, ड्रिम ल्याण्ड रियल स्टेट प्रालिलगायत कम्पनी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)